आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई २२१ रनको लक्ष्य दिएको छ।
स्कटल्यान्डमा जारी सिरिजमा सोमबार आफ्नो दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबिया ४७.३ ओभरमा २२० रनमा अलआउट भयो।
नामिबियाका लागि जान इटनले अर्धशतक प्रहार गरे। सोमपाल कामीबाट आउट हुनुअघि उनले ६९ बलमा ६० रनको योगदान गरे।
ओपनरद्वय लो लाउरेन्सले १८ रन र डिभान ला ककले ४१ रन जोडे। क्राइग विलियम्सले २१ रन जोड्दा जान ग्रिनले ३ रन मात्र जोड्न सके।
यस्तै नामिबियाका कप्तान इरामसले दीपेन्द्रसिंह ऐरीबाट बोल्ड हुनुअघि ४९ बलमा २२ रन जोडे। जेजे स्मिथ १७ रन र डेभिड विसे १८ रनमा आउट भए।
बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए। उनले १० ओभरमा ५४ रन खर्चिए।
सोमपाल कामीले २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र करण केसीले १-१ विकेट हात पारे। डेब्यू खेलाडी बासिर अहमेदले पनि १ विकेट लिन सफल भए।
७ देश सम्मिलित लिग-२ मा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ। ओमानले लिग-२ अन्तर्गतका सबै खेल खेलिसकेको छ।
२१ खेलबाट ३० अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छन्।
नेपाल १६ खेलबाट १५ अंक जोड्दै पाँचौ स्थानमा छ। नेपाल भन्दा तल छैठौं स्थानमा १४ खेलबाट १४ अंक जोडेको नामिबिया र २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छन्।
नेपालको खेल
नेपाल भर्सेस नामिबिया – असार २७
नेपाल भर्सेस स्कटल्यान्ड - असार २९
नेपाल भर्सेस नामिबिया - असार ३२
नेपाल भर्सेस स्कटल्यान्ड – साउन १
(नेपालका सबै खेल नेपाली समयअनुसार दिउँस ३:४५ बजे सुरू हुनेछ)