असोजमा हुने भनिएको नेपाल टी-२० लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता दिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी असोज ८ गतेदेखि कात्तिक ५ सम्म हुने लिगलाई आइसिसीले मान्यता दिएको हो।
लिगमा ६ टिमको सहभागिता हुनेछ। यसअघि क्यानले लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा र फार वेस्टर्नबीच प्रतिस्पर्धा हुने सार्वजनिक गरेको थियो।
क्यानले गत महिना ६ टिम खरिदका लागि टेन्डर आह्वान गरिएको थियो। प्रतियोगिताको व्यपारिक र रणनीतिक साझेदार सेभेन थ्री स्पोर्ट्स प्रालि रहेको छ।
क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा पहिलो श्रेणीका क्रिकेटरलाई १५ लाख रूपैयाँसम्म पारिश्रमिक दिने बताएको छ।
क्यानले नेपाल टी-२० लिगलाई देशको एक मात्र आधिकारी लिग बनाउने भन्दै अन्य फ्रेञ्चाइज लिगलाई राष्ट्रिय मान्यता भने नदिने बताएको छ। अन्य लिगलाई क्षेत्रीय लिगको मान्यता दिन भने सोच्न सकिने क्यानको भनाइ छ।
यसअघि काठमाडौंमा एभरेस्ट प्रिमियर लिग, पोखरामा पोखरा प्रिमियर लिग र धनगढीमा धनगढी प्रिमियर लिग सञ्चालन हुँदै आएका थिए। तीनै लिग क्यान निलम्बनको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट अनुमति लिएर सञ्चालन भएका थिए। अहिले भने क्यानको अनुमति दिएर मात्र अरु लिग सञ्चानल गर्न पाइने व्यवस्था छ।
एभरेस्ट प्रिमियर लिग भने आफूलाई मान्यता दिने पर्ने माग राख्दै आएको छ। क्यानबाट प्रतियोगिता सञ्चालन गर्न अनुमति नपाएपछि एभरेस्ट प्रिमियर लिगले सर्वोच्चमा दर्ता गरेको मुद्दा विचाराधिन छ।
यस्तै बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई प्रतियोगिताको अधिकार दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उजुरीको विषयमा अख्तियारले अहिले छानविन गरिरहेको छ।