आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्डले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ।
ग्लास्गोमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टिम स्कटल्यान्ड ४२.५ ओभरमा १४४ रनमा अलआउट भयो।
स्कटल्यान्डका लागि गाबिन मेनले अर्धशतक प्रहार गरे। टिमका लागि सबैभन्दा बढी रन जोडेका उनले नटआउट ६४ रन जोडे।
मेन र हम्जा ताहिरले अन्तिम विकेटका लागि १३.५ ओभरमा ४९ रनको साझेदारी गरेका थिए।
मार्क वाटले १७ रन, सफयन शरिफ १६ रन र म्याकलियोर्डले १३ रन जोडे। अरू ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
ओपनर केल कोइट्जर ६ रनमा सोमपाल कामीको बलमा र म्याथ्यु क्रस २ रनमा करण केसीको बलमा क्याच भएका थिए।
नेपालले दोस्रो ओभरदेखि नै विकेट लिन सुरू गरेको थियो। करण केसी र सोमपाल कामीको जोडीले सुरुवाती ओभरमा लगातार दबाब बनाएका थिए।
स्लिपमा तीन फिल्डर राखेको नेपालले सुरूवातदेखि नै विकेट पछाडि सफतला हात पर्न सुरु गरेको थियो।
नेपालले १३ ओभरमा स्कटल्यान्डको पाँच विकेट लिएको थियो। त्यतिबेला स्कटल्यान्डले ४० रन जोडेको थियो।
बलिङमा नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले ३-३ विकेट लिए। सोमपालले १० ओभरमा ४० रन खर्चिए भने अन्सारीले १० ओभरमा १ मेडन राख्दा ३१ रन दिए।
कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दै ३५ रन खर्चिए। करण केसी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए।
खेलमा कुशल भुर्तेलले चार क्याच लिँदा विकेटकिपर आसिफ शेखले तीन क्याच लिएका थिए।
नेपाल, नामिबिया र स्कटल्यान्डबीचको यो सिरिजमा नामिबियाले दुई खेल खेलिसकेको छ। नेपाल र स्कटल्यान्डले आफ्नो दोस्रो खेल खेलिरहेका हुन्।
पहिलो खेलमा नामिबियालाई स्कटल्यान्डले हराएको थियो। दोस्रो खेलमा भने नेपालमाथि नामिबियाले जित हात पारेको थियो।
७ देश सम्मिलित लिग-२ मा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ। ओमानले लिग-२ अन्तर्गतका सबै खेल खेलिसकेको छ।
२१ खेलबाट ३० अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छन्।
पाँचौ स्थानको नामिबियाले १६ खेलबाट १६ अंक जोडेको छ। १७ खेलबाट १५ अंक जोडेको नेपाल छैटौं स्थानमा छ। २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छन्।
सिरिजमा नेपालको खेल
नेपाल भर्सेस नामिबिया – असार २७
नेपाल भर्सेस स्कटल्यान्ड - असार २९
नेपाल भर्सेस नामिबिया - असार ३२
नेपाल भर्सेस स्कटल्यान्ड – साउन १