फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको प्रथम समिति बैठक बुधबार धनगढीमा बसेको छ।
समितिका अध्यक्ष सुवास शाहीको अध्यक्षतामा बसेको बैठकमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को उपस्थितिमा सबै समिति सदस्यहरुको सहभागिता रहेको थियो।
समितिको कार्यसूचीअन्तर्गत कार्यालय स्थापना, जनशक्ति व्यवस्थापन, वृहत आयोजना प्रतिबेदन(डीपीआर) तयारी, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयारी, कोष व्यवस्थापन, बजेट माग लगायतका प्रस्तावमाथि छलफल भयो।
समितिले धनगढी उपमहानगरपालिकाभित्रको उपर्युक्त स्थानमा यथाशिघ्र कार्यालय स्थापना गर्ने, समितिका लागि आवश्यक कर्मचारीको अस्थायी दरबन्दी स्वीकृतिका लागि मन्त्रालयलाई सिफारिस गर्ने, डीपीआर तयारीका लागि कार्यक्षेत्रगत शर्त तथा लागत अनुमान तयार गर्ने र डीपीआर तयारीका लागि परामर्शदाता छनोट गर्ने कार्य अघि बढाउने, ईआईएको कार्य अघि बढाउँन कार्यक्षेत्रगत शर्त तथा लागत अनुमान तयार गरी परामर्शदाता छनौटको कार्य अघि बढाउने, समितिलाई चाहिने आगामी आव २०७९/८० का लागि आवश्यक बजेट नेपाल सरकारबाट माग गर्ने लगायतका निर्णय भएको छ।
समिति बैठकमा मन्त्री गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम सुदूरपश्चिमको मात्रै नभई देशकै विकासको कोशेढुंगा रहेकोले सरकारले यसलाई उच्च प्राथमिकतामा राखि निर्माणकार्यलाई द्रूत गतीमा अघि बढाउँने प्रतिबद्धता जनाए।
विकासमा राजनीति गर्न नहुने दोहोर्याउँदै उनले रंगशाला निर्माण अभियानमा जोडिन सम्पूर्णलाई आह्वान गरे।
यस्तै समितिका अध्यक्ष शाहीले सुदूरपश्चिमबासीले लामो समयदेखि देख्दै आएको फाप्लामा रंगशाला बनाउँने सपना साकार हुने कुराको सुरुवाती बैठकको रुपमा औल्याउँदै यस सपना साकार गर्न सबै तहका सरकार तथा आम जनताको सहयोगका लागि अपिल गरे।