पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले पछिल्लो समय खराब लयबाट गुज्रिरहेका आफ्नो पुस्ताका प्रतिभाशाली भारतीय ब्याट्सम्यान विराट कोहलीको समर्थन गरेका छन्।
चोटका कारण इंग्ल्याण्डविरुद्धको पहिलो एकदिवसीय खेल गुमाएका कोहलीले दोस्रो खेलमा १६ रन बनाए, जुन खेलमा भारत १०० रनले पराजित भएको थियो।
इंग्ल्यान्डमा पनि ब्याटिङमा चुकेका विराटले शतक प्रहार गर्न नसकेको ७७ अन्तर्राष्ट्रिय खेल भइसकेको छ।
बिहीबार घोषणा गरिएको वेस्ट इन्डिजविरूद्धको भारतको टी-२० टोलीमा विराट छैनन्। विराटसँगै जसप्रित बुमराह र युजवेन्द्र चहललाई वेस्ट इन्डिज भ्रमणको लागि आराम दिइएको छ।
यो पनि : के विराट कोहलीको टी-२० क्रिकेट करिअर खतरामा परेको हो?
टी-२० विश्वकप नजिकिँदै छ। भारतलाई विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको दौडमा रहन अंक आवश्यक छ। यी प्रतियोगिताका लागि भारतीय टिममा विराटको स्थानबारे पछिल्लो समय प्रश्न उठिरहेका छन्।
पाकिस्तानका कप्तान आजमले भने सामाजिक सञ्जालमार्फत् विराटको समर्थक गरेका छन्।
अष्ट्रेलिया र वेस्ट इन्डिज विरुद्धको हालैको शृङ्खलामा अन्तर्राष्ट्रिय शतक र गत महिना लाहोरमा अस्ट्रेलिया विरुद्धको टी-२० मा अर्धशतक बनाएका आजम ब्याटिङ वरीयताको एकदिवसीय र टी-२० दुवैको शीर्ष स्थनमा छन्। यस्तै उनी टेस्ट वरीयतामा चौथो स्थानमा छन्। आजमले अहिलेको खराब लय सकिने संकेत गर्दै कोहलीलाई बलियो हुन सुझाव दिएका छन्।
यसअघि कोहलीलाई कप्तान रोहित शर्माले पनि समर्थन गरेका थिए।
‘जब कसैले यति लामो समयसम्म लगातार रन बनाइरहेको छ, यदि उसले एक वा दुई शृङ्खलामा वा एक वा दुई वर्षमा रन बनाउँदैन भने हामी उसको योगदानलाई बेवास्ता गर्न सक्दैनौं। हामीलाई विराट कोहलीको महत्त्व थाहा छ। विज्ञहरूलाई यसबारे कुरा गर्ने अधिकार छ तर हाम्रा लागि यी कुराहरूले फरक पार्दैन,’ रोहितको भनाइ थियो।