आइसिसी टी-२० विश्वकप २०२२ मा सहभागी हुने सबै टिमको टुंगो लागेको छ। जिम्बावेमा जारी विश्व छनोट समूह ‘बी’ बाट शुक्रबार दुई टिमले टी-२० विश्वकपमा स्थान पक्का गरेका हुन्।
जिम्बावे र नेदरल्यान्ड्सले सेमिफाइनलमा आ-आफ्ना खेल जित्दै अस्ट्रेलियाको टिकट काटे। जिम्बावेले पपुवा न्युगिनीलाई २७ रनले हरायो भने नेदरल्यान्ड्सले अमेरिकालाई ७ विकेटले हरायो।
अस्ट्रेलियाको सात शहरमा हुने विश्वकप आगामी १६ अक्टोबरमा सुरू हुनेछ।
१३ नोभेम्बरमा हुने फाइनल खेल मेलवर्न क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा १६ टिमबीच ४५ खेल हुनेछ।
नेपालले पनि गत वर्ष ओमानमा भएको छनोटमा भाग लिए थियो। तर सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल विश्वकप २०२२ मा छनोट हुन असफल भएको थियो।
टी-२० विश्वकप २०२२
समूह ए
नामिबिया, श्रीलंका, युएई, जिम्बावे वा नेदरल्यान्ड्स
समूह बी
आयरल्यान्ड, स्कटल्यान्ड, वेस्ट इन्डिज, जिम्बावे वा नेदरल्यान्ड्स
सुपर १२ - समूह १
अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, समूह ए विजेता, समूह बी उपविजेता
सुपर १२ - समूह २
बंगलादेश, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, समूह बी विजेता, समूह ए उपविजेता
पहिलो चरणमा समूह ए र बीका खेल हुनेछन्। दुवै समूहका शीर्ष दुईदुई टिम सुपर १२ मा पुग्नेछन्। सुपर १२ अन्तर्गत दुई समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्।
२०२२ टी-२० विश्वकप २०२४ को छनोटको आधार
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन्।
पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी-२० विश्वकपमा २० टिमले सभागिता जाउँदैछन्। आइसिसीले २०२४ देखि पहिलोपटक २० टिमबीच टी-२० विश्वकपमा प्रतिस्पर्धा गराउन लागेको हो।
आइसिसीको बोर्ड बैठकको निर्णयअनुसार १२ टिम विश्वकपमा सिधा पुग्नेछन् भने ८ टिमले क्षेत्रीय छनोट चरणमा पार गर्नुपर्नेछ।
२०२२ को टी-२० विश्वकपको शीर्ष आठ टिम २०२४ को विश्वकपका लागि सिधा छनोट हुनेछन्।
अमेरिका र वेस्ट इन्डिज आयोजकको हैसियतमा छनोट हुने आइसिसीले निर्णय गरेको छ।
वेस्ट इन्डिजले आगामी नोभेम्बरमा सकिने टी-२० विश्वकपको शीर्ष ८ मा स्थान बनाए आइसिसी विश्व वरीयताको आधारमा ३ टिम टी-२० विश्वकप २०२४ मा पुग्नेछन्। वेस्ट इन्डिज शीर्ष आठमा नपुगे विश्व वरीयताबाट २ टिममात्र छनोट हुनेछन्।
१४ नोभेम्बर २०२२ सम्मको विश्व वरीयतालाई छनोटको आधार मानिनेछ। यो मिति अस्ट्रेलियामा टी-२० विश्वकप सकिएको भोलिपल्ट हो।