आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। शनिबार भएको खेलमा नेपाललाई नामिबियाले ६३ रनले पराजित गर्यो।
स्कटल्यान्डमा जारी नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले नामिबियासँग खेलेका दुवै खेल गुमायो।
अब नेपालले अन्तिम खेलमा आइतबार घरेलु टिम स्कटल्यान्डसँग खेल्नेछ।
शनिबार नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा १३६ रनमै अलआउट भयो। खराब ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५५ बलमा ३८ रन र आसिफ शेखले ३४ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा नामिबियाका बेर्नाल्ड स्कोल्ट्जले ५ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया ४ बल खेल्न बाँकी छदा १९९ रनमा अलआउट भयो। उसका लागि कप्तान इरामसले ५३ रन जोडे।
बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए। सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए।
हारसँगै नेपाल लिग-२ को अंक तालिकामा छैटौं स्थानमा झरेको छ। नेपालको १९ खेलबाट १७ अंक छ। १८ खेलबाट १८ अंक जोडेको नामिबिया पाँचौ स्थानमा उक्लिएको छ।
देश सम्मिलित लिग-२ मा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ। ओमानले लिग-२ अन्तर्गतका सबै खेल खेलिसकेको छ।
२३ खेलबाट ३२ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छन्।
२० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छ।