भारतका पूर्वकप्तान विराट कोहलीले पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमलाई समर्थनका लागि धन्यवाद दिएका छन्।
पाकिस्तानी कप्तानले तीन दिनअघि एक ट्वीट गर्दै विराट कोहलीको खराब लय चाडै सकिने आशयको प्रतिक्रिया दिएका थिए।
खराब लयबाट गुज्रिरहेका कोहलीको अहिले भारतमा आलोचना भइरहेको छ। भारतीय पूर्वकप्तान कपिल देवले पनि भारतले प्रतिष्ठित खेलाडी नभइ लयमा रहेका खेलाडी छनोट गर्नुपर्ने सुझाव दिएका थिए।
चोटका कारण इंग्ल्याण्डविरुद्धको पहिलो एकदिवसीय खेल गुमाएका कोहलीले दोस्रो खेलमा १६ रन बनाए, जुन खेलमा भारत १०० रनले पराजित भएको थियो।
इंग्ल्यान्डमा पनि ब्याटिङमा चुकेका विराटले शतक प्रहार गर्न नसकेको ७७ अन्तर्राष्ट्रिय खेल भइसकेको छ।
बिहीबार घोषणा गरिएको वेस्ट इन्डिजविरूद्धको भारतको टी-२० टोलीमा विराट छैनन्। विराटसँगै जसप्रित बुमराह र युजवेन्द्र चहललाई वेस्ट इन्डिज भ्रमणको लागि आराम दिइएको छ।
टी-२० विश्वकप नजिकिँदै छ। भारतलाई विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको दौडमा रहन अंक आवश्यक छ। यी प्रतियोगिताका लागि भारतीय टिममा विराटको स्थानबारे पछिल्लो समय प्रश्न उठिरहेका छन्।
यो पनि : के विराट कोहलीको टी-२० क्रिकेट करिअर खतरामा परेको हो?
यसअघि कोहलीलाई कप्तान रोहित शर्माले भने समर्थन गरेका थिए।
‘जब कसैले यति लामो समयसम्म लगातार रन बनाइरहेको छ, यदि उसले एक वा दुई शृङ्खलामा वा एक वा दुई वर्षमा रन बनाउँदैन भने हामी उसको योगदानलाई बेवास्ता गर्न सक्दैनौं। हामीलाई विराट कोहलीको महत्त्व थाहा छ। विज्ञहरूलाई यसबारे कुरा गर्ने अधिकार छ तर हाम्रा लागि यी कुराहरूले फरक पार्दैन,’ रोहितको भनाइ थियो।