गुयानामा वेस्ट इन्डिज विरुद्धको शृङ्खला ३–० ले जितेको एकदिवसीय टोलीको नेतृत्व गरेको एक दिन बित्न नपाउँदै तमिम एकबालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।
बंगलादेशले खेल चार विकेटले जित्दा तमिमले प्लेयर अफ द सिरिजको ट्रफी पाएका छन्।
स्थानीय समय अनुसार साँझ करिब ६ बजे उनले आफ्नो आधिकारिक फेसबुक पेजमा बाङ्ला भाषामा पोस्ट गर्दै छोटो सन्देश लेखेका छन् ‘आजबाट टी-२० अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएको सम्झनुहोस्। सबैलाई धन्यवाद।"
उनले गत जनवरीमा टी–२० बाट ६ महिनाको ब्रेक लिने बताएका थिए। ‘
मेरो पूरा ध्यान टेस्ट र एकदिवसीयमा हुनेछ,’ तमिमले गत जनवरी २७ मा भनेका थिए, ‘हामी विश्व टेस्ट च्याम्पियनसिप र २०२३ को विश्वकपका लागि छनोटको तयारी गरिरहेका छौं। म आगामी ६ महिनामा टी-२० खेल्ने बारे सोच्ने छैन। मलाई आशा छ कि टिमलाई टी-२० मा मेरो आवश्यकता पर्दैन। तर यदि टोली वा क्रिकेट बोर्डलाई मेरो आवश्यकता पर्यो भने, र म तयार छु, म सम्भवतः सोच्नेछु।’
युएईमा भएको टी–२० विश्वकपबाट स्वेच्छाले बाहिरिने आश्चर्यजनक निर्णय गरेपछि तमिमले आफूलाई यस फर्म्याटबाट टाढा राखेका थिए।
तमिमले अन्तिम पटक मार्च २०२० मा टी-२० खेलेका थिए। उनले जिम्बाब्वे विरुद्ध ३३ बलमा ४१ रन बनाएका थिए। यसअघि पाकिस्तानमा भएको टी-२० शृङ्खलामा उनले ५३ बलमा ६५ रन बनाएका थिए।
तमिम सन् २००७ देखि २०१८ सम्म बंगलादेशको टी-२० टोलीमा नियमित थिए, उनले टोलीका लागि ८४ मध्ये ७५ खेल खेलेका थिए। उनी बंगलादेशका लागि टी-२० शतक बनाउने एक मात्र ब्याट्सम्यान बने, २४.६५ औसतमा १७०१ रन बनाएर तेस्रो सर्वाधिक रन बनाउने खेलाडी रहे। तमिमले घरेलु टी–२० प्रतियोगिता खेल्ने सम्भावना छ। उनी बीपीएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन्।