आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्ड, नेपाल र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज आफ्नो अन्तिम खेल खेल्दैछ।
दिउँस पौने चार बजे हुने खेलमा नेपालले घरेलु टिम स्कटल्यान्डविरूद्ध पहिले ब्याटिङ गर्दैछ। स्कटल्यान्डले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।
खेलका लागि नेपाली टिममा तीन परिवर्तन गरेको छ। करण केसी टिममा फर्किएका छन्। हिजो भएको खेलमा उनको स्थानमा पवन सर्राफले खेलेका थिए।
यस्तै बासिर अहमदको स्थानमा तीव्र गतिका बलर किशोर महतोले मौका पाएका छ्न्। जससँगै उनले एकदिवसीय खेलमा डेब्यू गर्ने भएका छन्।
यस्तै अलराउन्डर आदिल अन्सारीको स्थामा विनोद भण्डारीले खेल्ने भएका छन्।
यसअघि नेपालले सिरिजमा खेलेका तीन मध्ये दुई खेलमा पराजय भोगेको थियो। नामिबियाविरूद्धका दुवै खेलमा हार बेहोरेको नेपालले स्कटल्यान्डलाई भने पराजित गरेको थियो।
आज घरेलु टिमलाई पराजित गर्न सके नेपालले अंक तालिकामा नामिबियालाई पछि पार्नेछ।
नामिबियाविरूद्धका दुवै खेलमा खराब ब्याटिङ गरेको नेपालका लागि आज पनि मुख्य चुनौती ब्याटिङ नै हुनेछ।
नामिबियासँग पराजित भएसँगै नेपाल लिग-२ को अंक तालिकामा छैटौं स्थानमा झरेको छ। नेपालको १९ खेलबाट १७ अंक छ। १८ खेलबाट १८ अंक जोडेको नामिबिया पाँचौ स्थानमा छ।
७ देश सम्मिलित लिग-२ मा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ। ओमानले लिग-२ अन्तर्गतका सबै खेल खेलिसकेको छ।
२३ खेलबाट ३२ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छन्।
२० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छ।