नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० लिग आयोजना गर्न भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग गरेको सम्झौतामा असहमति जनाउँदै क्यानका ६ जना केन्द्रीय सदस्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन दर्ता गराएका छन्।
खेलकुद परिषद्को सिफारिसमा क्यानको केन्द्रीय सदस्य बनेका धर्मराज गिरीले यसअघि असार ७ गते निवेदन लेखेका थिए।
पत्रमा क्यानका केन्द्रीय सदस्यहरू मोहमद दाउद अन्सारी, ऋषिराम गौतम, संजय सिंह, करण महतरा र अमितविर पाण्डेले पनि सहमति जनाउँदै हस्ताक्षर गरेका छन्।
जुन पत्र साउन १ गतेको मितिमा २८ नम्बरमा राखेपमा दर्ता भएको छ।
उनीहरूले पत्रमा भारतीय कम्पनीसँग गरिएको सम्झौता क्रिकेट विकास र देशको स्वभिमान प्रति घातक रहेको देखिएको दाबी गरेका छन्।
पत्रमा सम्झौताका विभिन्न बुँदामा प्रश्न उठाइएको छ।
आगामी असोजमा गर्ने भनिएको नेपाल टी-२० लिगको आयोजनाका लागि क्यानले भारतीय कम्पनीसँग सम्झौता गरेको थियो। लिगका लागि सोमबार विभिन्न ६ टिमका मालिक घोषणा गरिदैछ।