आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले घरेलु टिम स्कटल्यान्डलाई १२९ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३५.५ ओभरमा १२८ रनमै अलआउट भयो।
नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले ४० रन जोडे। उनले ५८ बल खेलेर ६ चौका प्रहार गरे। अर्का ओनपर कुशल भुर्तेल भने ३ रनमै आउट भएका थिए।
देव खनाल र रोहित पौडेल १०-१० रनमा आउट भए भने दीपेन्द्रसिंह ऐरीले ७ रन मात्र जोड्न सके। आरिफ शेखले २ बल खेल्दा शून्यमै पेभिलियन फर्के।
नेपालले २१ ओभर चल्दै गर्दा सुरुवाती पाँच विकेट गुमाएको थियो। त्यतिबेला नेपालले ७२ रन मात्र जोडेको थियो।
नेपालको लगातार विकेट पतन हुन छाडेन। विनोद भण्डारी १३ रन र करण केसी ७ रनमा आउट भए। सोमपाल कामीले पनि २४ बल खेल्दा ७ रन जोड्न सके।
कप्तान सन्दीप लामिछाने ३७ बल खेलेर २२ रनमा जोडेर आउट भए भने डेब्यू खेलाडी किशोर महतोले ९ बल खेल्दा खाता खोल्न सकेनन्।
बलिङमा घरेलु टिम स्कटल्यान्डका हम्जा ताहिरले ४ विकेट लिए। मार्क वाटको नाममा ३ विकेट रह्यो।
नेपाल, नामिबिया र स्कटल्यान्डबीचको एकदिवसीय सिरिजको यो अन्तिम खेल हो। यसअघि नेपालले नामिबियाविरुद्धको दुवै खेल गुमाएको थियो। स्कटल्यान्डसँगको पहिलो खेलमा भने नेपाल विजयी भएको थियो।
नेपाल लिग-२ को अंक तालिकामा छैटौं स्थानमा छ। नेपालको १९ खेलबाट १७ अंक छ। १८ खेलबाट १८ अंक जोडेको नामिबिया पाँचौ स्थानमा छ।
७ देश सम्मिलित लिग-२ मा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ। ओमानले लिग-२ अन्तर्गतका सबै खेल खेलिसकेको छ।
२३ खेलबाट ३२ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छन्। २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छ।