आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज आइतबार सकियो।
स्कटल्यान्डमा भएको सिरिजमा नेपालले खेलेका चार खेल मध्ये तीन खेलमा पराजय भोग्यो।
खेलमा अमेरिकी पत्रकार पिटर डेला पेनाले कमेन्टेटरको भूमिका निर्वाह गरेका थिए।
आइतबार स्कटल्यान्डविरूद्ध खराब प्रदर्शन गरेको नेपालको खेलमा पिटरले गरेको टिप्पणीलाई लिएर केही नेपाली समर्थकले असन्तुष्टि जनाए।
कतिपयले उनलाई नेपाली क्रिकेटको बारेमा नकारात्मक टिप्पणी गर्न भन्दै सामाजिक सञ्जालमा सन्देश समेत पठाए। ती सन्देश मध्येमा एउटा पिटरले आइतबार ट्विटरमा पोस्ट गरेका थिए।
त्यसमा अमेरिकाका क्रिकेटर अली खानले आपत्तिजनक प्रतिक्रिया दिए। उनले नेपाली क्रिकेट फ्यान अहिलेसम्मकै सबैभन्दा खराब भनेर प्रतिक्रिया दिएका थिए।
यो टिप्पणीप्रति कतिपय नेपाली क्रिकेट फ्यान आक्रोशित भएका छन्। यसमा नेपालका कप्तान सन्दीप लामिछानेले पनि आपत्ति जनाए।
सन्दीपले ट्विटरमार्फत अलीलाई जवाफ दिँदै लेखेका छन्- 'मेरा एक सहकर्मीबाट यस्तो सामान्यकृत र घृणित टिप्पणीको आशा कहिल्यै गरेको थिइन्। नेपाली जनताले क्रिकेटको सास फेर्छन् । उनीहरुको रगतमा क्रिकेट छ । र तिनीहरू क्रिकेट विश्व नक्शाको एक महत्वपूर्ण भाग हुन्। खेलकुदले मानिसलाई एकताबद्ध गर्नुपर्दछ, उनीहरूलाई विभाजित गर्नु हुँदैन।'