आगामी असोजमा हुने तय भएको नेपाल टी-२० लिग खेल्ने ६ टिम मध्ये ४ टिमको नाम र स्वामित्व लिएका कम्पनी नाम सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजना गर्न अनुमति दिएको लिगका लागि घोषणा गरेका चार टिममा कान्तिपुर क्यापिटल्स, लुम्बिनी अल स्टार्स, विराटनगर सुपरकिंग्स र जनकपुर रोयल्स रहेका छन्।
कान्तिपुरको स्वामित्व कान्तिपुर नेपालका महेश स्वाँरले लिएका छन्। यस्तै नेपाली अलस्टार युएसएका सन्जय शर्माले लुम्बिनी अलस्टार्सको स्वामित्व किनेका छन्।
विराटनगरको टिम डाइमन्ड डिजिक्याप प्रालि भारतका विक्रम यादवले लिएका छन्। यस्तै भारतकै गोल्डस्पोर्ट्स प्रालिका गौरीशंकर धमनीले जनकपुरको टिमको स्वामित्व लिएका छन्।
क्यानले पोखरा र फार वेस्टर्नको टिम तथा स्वामित्व पछि घोषणा गर्ने जनाएको छ।
आगामी असोज ८ गतेदेखि कात्तिक ५ सम्म काठमाडौंमा हुने लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को मान्यता छ।
क्यानले यसअघि ६ टिम खरिदका लागि टेन्डर आह्वान गरेको थियो। पहिलो पटक आयोजना गर्न लागिएको यो प्रतियोगितामा पहिलो श्रेणीका क्रिकेटरलाई १५ लाख रूपैयाँसम्म पारिश्रमिक दिने बताइएको छ।
क्यानले नेपाल टी-२० लिगलाई देशको एक मात्र आधिकारीक लिग बनाउने भन्दै अन्य फ्रेञ्चाइज लिगलाई राष्ट्रिय मान्यता भने नदिने बताएको छ। अन्य लिगलाई क्षेत्रीय लिगको मान्यता दिन भने सोच्न सकिने क्यानको भनाइ छ।
यसअघि काठमाडौंमा एभरेस्ट प्रिमियर लिग, पोखरामा पोखरा प्रिमियर लिग र धनगढीमा धनगढी प्रिमियर लिग सञ्चालन हुँदै आएका थिए। तीनै लिग क्यान निलम्बनको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट अनुमति लिएर सञ्चालन भएका थिए। अहिले भने क्यानको अनुमति दिएर मात्र अरु लिग सञ्चानल गर्न पाइने व्यवस्था छ।
एभरेस्ट प्रिमियर लिग भने आफूलाई मान्यता दिने पर्ने माग राख्दै आएको छ। क्यानबाट प्रतियोगिता सञ्चालन गर्न अनुमति नपाएपछि एभरेस्ट प्रिमियर लिगले सर्वोच्चमा दर्ता गरेको मुद्दा विचाराधिन छ।
यस्तै बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई प्रतियोगिताको अधिकार दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उजुरीको विषयमा अख्तियारले अहिले छानविन गरिरहेको छ।
क्यानका ६ जना केन्द्रीय सदस्यले पनि भारतीय कम्पनीसँग गरिएको सम्झौता ठिक नभएको भन्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई पत्राचार गरेका छन्।