नेपाली राष्ट्रिय क्रिकेट टिमको दोस्रो पटक प्रशिक्षक नियुक्त भएपछि पुबुदु दसानायके गत पुसमा नेपाल आएका थिए।
मंसिर २५ मा नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकबाट पुबुदुलाई प्रशिक्षक नियुक्त गर्ने निर्णय अनुमोदन भएको थियो।
आफ्नो दोस्रो कार्यकालका लागि नेपाल आउदा पुबुदुसामू चुनौतीका चाङ थिए।
त्यतिबेला क्यानले तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई नियुक्त गरेको अवस्था थियो। ज्ञानेन्द्रसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई मिडियामा आफ्नो असन्तुष्टि व्यक्त गरेको भन्दै ६ महिनाको तलब नदिने समेत निर्णय गरेको थियो।
नेपाल ओर्लिएपछि पुबुदुले खेलाडी र क्यानबीचको जस्तो समस्या संसारका सबैजसो देशमा हुने गरेको र नेपालको समस्या समान्य भएको भन्दै बन्द कोठाभित्र छलफल गरेको खण्डमा समाधान हुने बताएका थिए।
तर केही दिनमै उनले क्यानको निर्णयमा आफूले केही बोल्न नसक्ने बताए।
उनले टिममा एकता कायम गर्ने र नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउने बाचा गरेका थिए।
तर उनी दुवैमा सफल हुन सकेनन्।
प्रशिक्षक नियुक्त भएको ८ महिनापछि उनी आफ्नो दोस्रो कार्यकालमा 'असफल' को ट्याग भिरेर क्यानडा फर्कँदै छन्।
बुधबार नेपाली टिमको प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु बुधबार नै क्यानडाको प्रशिक्षक नियुक्त भएको सार्वजनिक भएको थियो।
उनको नेतृत्वमा नेपालले पछिल्लो ६ महिनामा १४ एकदिवसीय खेल खेल्यो। जसमा नेपालले ४ खेलमा मात्र जित निकाल्न सक्यो। ९ खेलमा नेपाल पराजित भयो भने १ खेल बराबरीमा सकिएको थियो।
टी-२० मा केही राम्रा नजिता निस्किए। घरेलु मैदानमा मलेसिया र पपुवा न्युगिनीसँग टी-२० खेल्न नेपाललाई सहज भयो।
त्यस्तै विश्वकप छनोटमा ओमान, फिलिपिन्स र क्यानडाविरूद्ध नेपालले समूह चरणमा राम्रो खेल देखाएको थियो। तर सेमिफाइनलमा युएईसँग नराम्रोसँग पराजित हुँदा नेपाल विश्वकपमा पुग्न सकेन।
नेपालले पछिल्लो ६ महिनामा १३ टी-२० अन्तर्राष्ट्रिय खेल्यो। जसमा नेपालले १० खेलमा जित निकाल्यो भने ३ खेलमा पराजित भयो।
एकदिवसीय मान्यताका लागि महत्वपूर्ण मानिएको विश्वकप लिग-२ मा नेपालका लागि पछिल्ला तीन सिरिज खराब साबित बन्यो।
नेपालले पुबुदुको प्रशिक्षणमा युएईमा युएई र पपुवा न्युगिनीविरूद्ध, अमेरिकामा अमेरिका र ओमानविरुद्ध तथा स्कटल्यान्डमा स्कटल्यान्ड र नामबियाविरूद्ध गरी तीन वटा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्यो। यी सिरिजमा ४-४ खेल गरी १२ खेल खेल्यो। जसमा नेपाल ४ खेलमा मात्र विजयी हुन सक्यो।
गत साता सकिएको स्कटल्यान्ड भ्रमणमा खराब ब्याटिङकै कारण नेपाल लिग-२ को अंक तालिकामा छैटौं स्थानमा झर्यो। नेपालले २० खेलबाट १७ अंक मात्र जोड्न सकेको छ। नेपालभन्दा तल रहेको सातौं स्थानको पपुवा न्युगिनीको २ अंक छ।
एकदिवसीय मान्यता जोगाउनका लागि शीर्ष पाँच भित्र पर्न अब नेपालले बाँकी रहेका १६ खेलमा राम्रो नजिता निकाल्न आवश्यक छ।
नेपालले अब नामिबिया र स्कटल्यान्डविरूद्ध दुई सिरिज खेल्न बाँकी छ। एक सिरिज नेपालमा हुनेछ भने अर्को सिरिज नामिबियामा छ। यस्तै नेपालले युएई र पपुवा न्युगिनीसँग पनि दुई सिरिज खेल्न बाँकी छ। एक सिरिज नेपालमा हुनेछ भने एक सिजन पपुवा न्युगिनीमा हुनेछ।
यी सिरिजमा राम्रो नतिजा निकाल्न सके नेपालले १८ अंक जोडेर पाँचौ स्थानमा रहेको नामिबिया, २३ अंक जोडेर चौथो स्थानमा रहेको अमेरिका र २६ अंक जोडेर तेस्रो स्थानमा रहेको युएईलाई पछि पार्न सक्छ। लिग-२ मा ओमान ४४ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको स्कटल्यान्डको ३४ अंक छ।
पुबुदु पहिलो कार्यकालमा भने नेपालका लागि सफल प्रशिक्षक हुन्। ५२ वर्षीय पुबुदु यसअघि सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त भएका थिए। त्यतिबेला उनले श्रीलंकन प्रशिक्षक रोय डायसको स्थान लिएका थिए।
सन् २०१५ मा क्यानसँग विवाद भएपछि नेपाली क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका उनले पपुवान्युगिनीविरूद्ध अन्तिम खेल खेलाएका थिए। यद्यपी उनी आइसिसीको अनुरोधमा २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक बनेका थिए। त्यतिबेला उनले नामिबिया भएको सिरिज र एमसिसीविरुद्धको सिरिजमा नेपाली टिम सम्हालेका थिए।
पुबुदुको नेतृत्वमा नेपालले डिभिजन ४ हुँदै डिभिजन २ सम्म खेलेको थियो। उनको प्रशिक्षणमा नेपालले सन् २०१४ को टी-२० विश्वकप खेलेको थियो।
नेपाल छाडेपछि उनी सन् २०१६ मा अमेरिकाको प्रशिक्षक नियुक्त भएका थिए। उनले सन् २०१९ मा अमेरिकाको प्रशिक्षक पदबाट राजनीनामा दिएका थिए।
उनी तीन वर्षअघि एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम भैरहवा ग्लाडिएर्टसका प्रशिक्षक नियुक्त भएका थिए।
सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त हुनुअघि पुबुदु क्यानडाका प्रशिक्षक थिए। उनको प्रशिक्षणमा क्यानडाले सन् २०११ को एकदिवसीय विश्वकप खेलेको थियो।
श्रीलंकाका पूर्व राष्ट्रिय खेलाडी पुबुदु क्यानडाका नागरिक हुन्। पुबुदुले सन् १९९३ देखि १९९४ सम्म श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका थिए। ११ टेस्ट र १६ एकदिवसिय खेल खेलेका विकेटकिपर ब्याट्सम्यान पुबुबुले सन् २००५ देखि २००६ सम्म क्याडनाबाट समेत खेलेका थिए।