भारतले वेस्टइन्डिजमाथि तीन रनको रोमाञ्चक जित हात पारेको छ। तीन एकदिवसीय सिरिज खेल्न वेष्टइन्डिज पुगेको भारतले विजयी सुरूआत गरेको हो।
जितको लागि ३ सय ९ रनको लक्ष्य पछ्याएको घरेलु टोली वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५ रन मात्र बनायो।
वेस्टइन्डिजलाई अन्तिम ओभरमा जितको लागि १४ रन आवश्यक रहँदा मोहम्मद शिराजले एक चौकासहित ११ रन मात्र खर्चेपछि भारतले रोमाञ्चक जित निकालेको हो।
वेस्टइन्डिजका लागि ओपनर काईल मेयर्सले सर्वाधिक ७५ रन बनाए। यस्तै ब्रेन्डम किंगले ५४ रन जोडे। शमराह ब्रुकले ४६ रन जोड्दा रोमारियो शेफर्डले अभिजित ३९ तथा अकिल हुसैनले अभिजित ३२ रन जोडे पनि हारबाट बचाउन सकेनन्।
ओपनर शाई होप ७ रनमै आउट भए पनि दोस्रो विकेटका लागि मेयर्स र शमराहले १ सय १७ रनको शतकीय साझेदारी गरेका थिए।
कप्तान निकोलस पुरन २५ र रोभम्यान पावेल ६ रनमा आउट भएका थिए।
भारतका लागि मोहम्मद शिराज, शार्दुल ठाकुर र युजभेन्द्र चहलले समान २-२ विकेट लिए।
त्यसअघि क्विन पार्क ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ८ रन बनायो। भारतका लागि कप्तान शिखर धवनले सर्वाधिक ९७ रन बनाए। सतक बनाउन तीन रनले चुकेका उनले ९९ बलमा १० चौका र ३ छक्का प्रहार गरे।
युवा ओपनर शुभमन गिलले ६४ रन जोड्दा श्रेयस ऐयर ५४ रनमा आउट भए।
ओपनर गिल र धवनले पहिलो विकेटका लागि १७.४ ओभरमा १ सय १९ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।
दीपक हुडा २७ र अक्षर पटेल २१, सूर्यकुमार यादव १३, सन्जु स्यामसन १२ रनमा आउट भए।
वेस्टइन्डिजका अल्जारी जोशेफ र गुडाकेश मोटीले दुई दुई विकेट लिए। यस्तै रोमारियो शेफर्ड र अकिल हुसैनले १-१ विकेट हात पारे।
अब दोस्रो खेल आइतबार हुनेछ।