लगातार दोस्रो जित निकाल्दै भारतले वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय शृंखला एक खेल अगाडिनै जितेको छ।
अलराउन्डर अक्षर पटेलको आक्रामक ब्याटिङमा भारतले दोस्रो एक दिवसीय खेलमा घरेलु टोली वेस्टइन्डिजमाथि दुई विकेटको रोमाञ्चक जित निकालेको हो।
जितको लागि ३ सय १२ रनको लक्ष्य पछ्याएको भारतले २ बल बाँकी छँदै ८ विकेट गुमाएर पुरा गर्यो।
भारतको जितमा अक्षर पटेल सर्वाधिक ६४ रन बनाए। ३५ बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गर्दै अविजित रहे।
भारतलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिएको थियो। तर भारतले ४ बलमै ८ रन जोड्दै जित निकाल्यो।
यसअघि श्रेयस ऐरले ६३ रन बनाउँदा सञ्जु स्यामसनले ५४ रन जोडे। सुभमन गिलले ४३ रन बनाउँदा कप्तान शिखर धवनले १३ रन जोडे।
यस्तै दीपक हुडा ३३, आवेश खान १०, सूर्य कुमार यादव ९ तथा शार्दुल ठाकुर ३ रनमा आउट भए।
वेस्टइन्डिजका अल्जारी जोशेफ र काइल मेयर्सले दुई-दुई विकेट लिए।
त्यसअघि क्विन पार्क ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो।
उसका लागि ओपनर शाई होपले सर्वाधिक ११५ रन बनाए। १ सय ३५ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरेका थिए।
कप्तान निकोलस पुरनले ७४ रन जोडे। उनले शाई होपसँग १ सय १७ रनको शतकीय साझेदारी गरेका थिए।
अर्का ओपनर काईल मेयर्सले ३९ रन बनाउँदा शम्राह ब्रुक्सले ३५ तथा ब्रेन्डन किंग शून्यमा आउट भए ।
यस्तै रोभम्यान पावेल १३, रोमारियो शेफर्ड १५ र अकिल हुसैनले १३ रनमा आउट भए।
भारतका लागि शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए। यस्तै दीपक हुडा, अक्षर पटेल र युजभेन्द्र चहलले एक-एक विकेट हात पारे।
यसअघि पहिलो खेलमा भारत तीन रनले विजयी भएको थियो। तेस्रो खेल बुधबार हुनेछ।