नेपाल टी-२० लिगमा सहभागी हुने टिम लुम्बिनी अलस्टार्सले लोगो सार्वजनिक गरेको छ।
लुम्बिनीले राजधानीमा आज एक कार्यक्रम गर्दै लोगो सार्वजनिक गरेको हो।
लुम्बिनी अलस्टार्स अमेरिकाको नेपाली अलस्टार युएसएको स्वामित्वमा रहेको टिम हो। अलस्टारमा अमेरिकामा रहेका पूर्वक्रिकेटर र व्यवसाय गरिरहेका व्यक्तित्व छन्।
अलस्टारको प्रमुखमा सञ्जय शर्मा छन् भने पूर्वक्रिकेटर बरदान चालिसेसहित आषिक तामाङ र उत्सव सिग्देल कम्पनीमा छन्।
क्यानले साउन २ मा नेपाल टी-२० लिग खेल्ने ६ टिम मध्ये ४ टिमको नाम र स्वामित्व लिएका कम्पनी नाम सार्वजनिक गरेको थियो।
नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजना गर्न अनुमति दिएको लिगका लागि घोषणा गरेका चार टिममा कान्तिपुर क्यापिटल्स, लुम्बिनी अल स्टार्स, विराटनगर सुपरकिंग्स र जनकपुर रोयल्स छन्।
कान्तिपुरको स्वामित्व कान्तिपुर नेपालका महेश स्वाँरले, नेपाली अलस्टार युएसएका सन्जय शर्माले लुम्बिनी अलस्टार्स, विराटनगरको टिम डाइमन्ड डिजिक्याप प्रालि भारतका विक्रम यादव र भारतकै गोल्डस्पोर्ट्स प्रालिका गौरीशंकर धमनीले जनकपुरको टिमको स्वामित्व लिएका थिए।
क्यानले पोखरा र फार वेस्टर्नको टिम तथा स्वामित्व पछि घोषणा गर्ने बताएको थियो।
आगामी असोज ८ गतेदेखि कात्तिक ५ सम्म काठमाडौंमा हुने लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को मान्यता छ।