फ्रान्सका ओपनिङ ब्याट्सम्यान गुस्ताभ म्याककिनले टी-२० अन्तर्राष्ट्रियमा शतक बनाउने सबैभन्दा कान्छा पुरुष खेलाडीको रेकर्ड बनाएका छन्।
टी-२० विश्वकप २०२४ अन्तर्गत फिनल्यान्डमा भएको युरोप उप-क्षेत्रीय छनोटमा विश्व रेकर्ड तोडिएको हो।
१८ वर्ष २८० दिन उमेरका गुस्ताभले स्विट्जरल्याण्डविरुद्ध ६१ बलमा १०९ रन जोडे। शतकका लगि उनले पाँच चौका र नौ छक्का प्रहार गरे।
उनले तीन वर्षअघि अफगानिस्तानका ओपनर हजरतुल्लाह जाजईको रेकर्ड भंग गरे। जाजईले सन् २०१९ मा आयरल्यान्डविरूद्ध नटआउट १६२ रन प्रहार गरेका थिए। त्यतिबेला उनी २० वर्ष ३३७ दिन उमेरका थिए।
गुस्तावले रेकर्ड बनाए पनि खेल भने फ्रान्सले जित्न सकेन। पहिले ब्याटिङ गरेको फ्रान्सले २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन जोड्यो।
स्विट्जरल्याण्डले ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै १ विकेटको जित निकाल्यो। स्विट्जरल्यान्डले अन्तिम बलमा लक्ष्य पूरा गर्दै रोमाञ्चक जित निकाल्यो।
यो छनोटको विजेताले दोस्रो चरणमा डेनमार्क, इटाली र जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ।
टी-२० आइमा शतक बनाउने सबैभन्दा कान्छा पुरुष खेलाडी
गुस्ताभ म्याककिन- १८ वर्ष २८० दिन, फ्रान्स, स्विट्जरल्याण्डविरुद्ध, २०२२
हजरतुल्लाह जाजई – २० वर्ष ३३७ दिन, अफगानिस्तान, आयरल्याण्डविरुद्ध, २०१९
शिवकुमार पेरियालवार – २१ वर्ष १६१ दिन, रोमानिया, टर्कीविरुद्ध, २०१९
अर्चिड तुइसेंजे, २१ वर्ष १९० दिन, रुवाण्डा, सेशेल्सविरुद्ध, २०२१
दिपेन्द्रसिंह ऐरी, २२ वर्ष ६८ दिन, नेपाल, मलेसिया विरुद्ध, २०२२