अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले चार ठूला महिला क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ।
सन् २०२४ देखि २०२७ सम्म आयोजना प्रतियोगितामा एक दिवसीय विश्वकप, टी-ट्वान्टी विश्वकप र टी ट्वान्टी च्याम्पियन ट्रफी रहनेछन्।
आईसीसीले घोषणा गरेको प्रतियोगिता अनुसार बंगलादेशले सन् २०२४ को महिला टी ट्वान्टी विश्वकप आयोजना गर्नेछ।
यस्तै सन् २०२५ मा भारतले एक दिवसीय विश्वकपको आयोजना गर्नेछ। यस्तै इंग्ल्यान्डले सन् २०२६ मा महिला टी–ट्वान्टी विश्वकप आयोजना गर्नेछ। श्रीलंकामा २०२७ फेब्रुअरीमा एक टी-ट्वान्टी च्याम्पियन्स ट्रफी आयोजना हुनेछ।
बंगलादेशले सन् २०१४ को पुरूष टी २० विश्वकप आयोजना गरेको एक दशकपछि महिला टी-ट्वान्टी विश्वकपको आयोजना गर्ने मौका पाएको हो। सेप्टेम्बर-अक्टुबरमा हुने प्रतियोगितामा १० टोलीले २३ खेल खेल्नेछन्।
यस्तै भारतले सन् २०२५ मा पाँचौ पटक महिला एक दिवसीय विश्वकप आयोजना गर्दैछ। प्रतियोगितामा ८ टोलीले ३१ खेल खेल्नेछन्।
पुरूष क्रिकेटमा जस्तै, आइसिसीले टी २० विश्वकपमा सहभागी हुने टोलीको संख्या बढाउने निर्णय गरेको छ। सन् २०२६ मा इङ्ल्याण्डमा हुने प्रतियोगितामा कुल १२ टोलीले विश्वकप खेल्नेछन्। यो विश्वकपमा ३३ खेल हुनेछ।
यस्तै सन् २०२७ को फेब्रुअरीमा श्रीलंकाले आयोजना गर्ने पहिलो महिला च्याम्पियन्स ट्रफी टी ट्वान्टी फर्म्याटमा हुनेछ। ६ टोलीले खेल्ने प्रतियोगितामा १६ खेल हुनेछन्। यद्यपि यो प्रतियोगिताका लागि श्रीलंका छनोट नभए आयोजनास्थल सर्ने आइसिसीले बताएको छ।