भारतले वेस्टइन्डिजसँगको तीन ओडिआई खेलको सिरिज क्लिनस्विप गरेको छ।
युवा ओपनर शुभमन गिल र युजभेन्द्र चहलको उत्कृष्ट प्रदर्शनमा भारतले तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय १९ रनले हराउँदै सिरिज ३-०ले जितेको हो।
वर्षाले प्रभावित खेलमा भारतले निर्धारित ३६ ओभरमा ३ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो। भारतका लागि ओपनर शुभमन गिलले सर्वाधिक ९८ रन बनाए। सतक बनाउन २ रनले चुकेका उनले ९८ बलमा ७ चौका र २ छक्कासहित नटआउट रहे।
यस्तै अर्का ओपनर तथा कप्तान शिखर धवनले ५८ रनको अर्धसतकीय पारी खेले। उनले ७४ बलमा ७ चौका प्रहार गरे।
पहिलो विकेटका लागि गिल र धवनले २२.५ ओभरमा १ सय २२ रनको शतकीय साझेदारी गरेका थिए। यस्तै श्रेयस ऐरले ४४ रन बनाउँदा सूर्यकुमार यादवले ८ रन जोडे। सन्जु सामसन ७ रनमा अभिजित रहे।
वेस्टइन्डिजका हायडन वाल्श जुयिनरले सर्वाधिक दुई विकेट लिए।
पुन वर्षाको कारण वेस्टइन्डिले ३५ ओभरमा डकवर्थ लेविस पद्धतिको आधारमा २ सय ५७ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य पछ्याउनेक्रममा वेस्टइन्डिजले १ सय ३७ रन बनाउँदै २६ ओभरमा अल आउट भयो।
उसका लागि कप्तान निकोलस पुरन र ब्रेन्डन किंगले सर्वाधिक समान ४२–४२ रन बनाए। शाई होपले २२ रन बनाउँदा हाइडेन वाल्शले १० रन जोडे। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । काइल मेयर्स, शम्राह ब्रुक्स र जाइडेन सियालेसले खाता खोल्न पाएनन्।
भारतका युजभेन्द्र चहलले सर्वाधिक चार विकेट लिए। यस्तै शार्दुल ठाकुर र मोहम्मद शिराजले समान दुई-दुई विकेट हात पारे।अक्षर पटेल र प्रसिद्ध कृष्णले १-१ विकेट लिए।
यसअघि पहिलो खेलमा तीन रनले जितेको भारतले दोस्रो खेलमा दुई विकेटको रोमाञ्जक जित निकालेको हो।
भारत र वेस्टइन्डिजबीच अब पाँच टी २० आईको खेल हुनेछ।