इंग्ल्यान्डले पहिलो टि२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकालाई ४१ रनले हराएको छ। जोनी बेयरस्टो र मोईन अलीको विष्फोटक ब्याटिङमा घरेलु टोली इंग्ल्यान्डले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको हो।
जितको लागि २ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९३ रन बनायो। उसका लागि ट्रिस्टन स्टब्सले बिस्फोटक ब्याटिङ गर्दै मात्र २८ बलमा २ चौका र ८ छक्कासहित ७२ रनको पारी खेले पनि जिताउन सकेनन्।
ओपनर क्विन्टन डि कक दुई र राइली रोसवोले ४ रन बनाएर आउट भए पनि ओपनर रिजा हेन्ड्रिक्सले ५७ रन जोडेका थिए। यस्तै हेनरिक क्लासेन २० र एन्डियो फेहकुवओ २२ रनमा आउट भए। कप्तान डेविड मिलरले ८ रन बनाए।
इंग्ल्यान्डका लागि रिचर्ड ग्लेसनले सर्वाधिक तीन विकेट लिए। रिस टोप्ली र आदिल राशिदले समान दुई-दुई विकेट लिए। मोईन अलीको नाममा एक विकेट रह्यो।
त्यसअघि काउन्ट्री ग्राउन्ड बिस्टलमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३४ रन बनायो।
इंग्ल्यान्डका लागि जोनी बेयरस्टोले सर्वाधिक ९० रन बनाए। ५३ बल खेलेका उनले ३ चौका र ८ छक्का प्रहार गरे। यस्तै मोईन अलीले १८ बलमा २ चौका र ६ छक्कासहित ५२ रनको अर्धसतकीय इनिङ्स खेले।
यस्तै डेविड मलानले ४३ रन बनाएका थिए। ओपनर जेसन रोय ८ र जस बटलर २२ रनमा आउट भएका थिए ।
चौथो विकेटका लागि मोईन अली र जोनी बेयरस्टोले ३७ बलमा १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए ।
पहिलो १०.३ ओभरमा १०० रन बनाएको इंग्ल्यान्डले अन्तिम ९.३ ओभरमा १ सय ३४ रन जोडेको थियो।
दक्षिण अफ्रिकाका लागि लुन्गी एनगिडीले सर्वाधिक ५ विकेट लिए।