नेपाली क्रिकेट टिमसँग क्रिकेट सिरिज खेल्नका लागि केन्याले प्रस्ताव पठाएको छ। केन्याले आगामी भदौं दोस्रो साता सिरिज खेल्नका लागि प्रस्ताव पठाएको हो।
केन्याको प्रस्तावमाथि क्यान सकारात्मक रहेको छ। क्यानका अध्यक्ष चुतरबहादुर चन्द र कार्यवहाक सचिव अहिले इंग्ल्यान्डमा रहेका छन्।
उनीहरू दुवै जना नेपाल फर्किएपछि सिरिज खेल्ने/नखेल्ने विषयमा क्यानले निर्णय गर्नेछ। आर्थिक पाटो र केन्यासँग कुन फर्म्याटमा सिरिज खेल्ने विषयमा पनि छलफल हुनेछ।
क्यानले केन्यासँग सिरिजसँगै नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक नियुक्तिको विषयमा पनि अध्यक्ष र सचिव आएपछि निर्णय गर्नेछ। यसअघि पुबुदु दसानायकेले प्रशिक्षक पदबाट राजीनामा दिएपछि हाल नेपाली टिम प्रशिक्षकविहीन छन्।
केन्या पाँच पटक क्रिकेट विश्वकप खेलिसकेको टिम हो। केन्याले चार पटक एकदिवसीय विश्वकप र एक पटक टी-२० विश्वकप खेलेको थियो। केन्या सन् २००३ को एकदिवसीय विश्वकपमा सेमिफाइनलमा पुगेको थियो। पछिल्लो पटक सन् २००७ को टी-२० विश्वकप खेलेपछि भने केन्याले छनोट भएको छैन।
कुनै समय राम्रो लयमा रहेको केन्या पछिल्लो समयले एसोसिएट देशको दोस्रो डिभिजनको लिग च्यालेन्ज लिग खेलिरहेको छ।
केन्याले पहिलो पटक १९९६ मा एकदिवसीय खेल खेलेको थियो भने २०१४ मा एकदिवसीय मान्यता गुमाएको थियो।
यो पनि :- नयाँ प्रशिक्षक नियुक्ति प्रक्रिया अघि बढाउँदै क्यान