भारतलाई हराउँदै कमनवेल्थ महिला क्रिकेटको स्वर्णपदक अष्ट्रेलियाले जितेको छ। बर्मिङ्घममा आइतबार राति भएको खेलमा भारतलाई ९ रनले हराउँदै अष्ट्रेलियाले स्वर्ण पदक जितेको हो।
अष्ट्रेलियाले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको भारत १९.३ ओभरमा अलआउट हुँदै १ सय ५२ रनमा समेटियो।
भारतका लागि कप्तान हरमप्रीत कौरले सर्वाधिक ६५ रन बनाइन्। जेमिमाह रोड्रिगेजले ३३ रन बनाइन्। अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
बलिङ्तर्फ अष्ट्रेलियाकी गार्डनरले सर्वाधिक ३ विकेट लिइन्। यस्तै मेगन सूचटले २ विकेट हात पारिन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारति २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनायो।
उसका लागि बेथ मूनीले सर्वाधिक ६१ रन बनाइन्। यस्तै मेग लनिङले ३६ रन बनाउँदा एशले गार्डनरले २५ रन बनाइन्। बलिङतर्फ भारतका रेनुका सिंह र स्नेहा रानाले २-२ विकेट लिए।
यो सँगै बेलायतमा जारी कमनवेल्थ गेम्समा अष्ट्रेलियाले ६६ स्वर्ण, ५५ रजत र ५३ कास्यसहित सर्वाधिक १७४ पदक जित्दै शीर्ष स्थानमा छ।
आयोजक बेलायत ५५ स्वर्ण, ५९ रजत र ५२ कास्यसहित १६६ पदक जितेर दोस्रो तथा २६ स्वर्ण, ३१ रजत र ३४ कास्यसहित ९१ पदक जितेको क्यानडा तेस्रो स्थानमा छ।
यस्तै न्यूजिल्याण्ड १९ स्वर्ण, १२ रजत र १७ कास्यसहित चौथो स्थानमा रहँदा भारत १८ स्वर्ण, १५ रजत र २२ कास्यसहित कुल ५५ पदक जितेर तालिकाको पाँचौ स्थानमा छ।
स्कटल्याण्ड र नाइजेरियाले समान १२-१२ स्वर्ण जित्दा वेल्सले ८ तथा दक्षिण अफ्रिका र नर्दन आयरल्याण्डले ७-७ स्वर्ण जितेका छन्।
यस्तै अर्को लक्षिण एसियाली मुलुक पाकिस्तानले हालसम्म २ स्वर्ण, ३ रजत र ३ कास्यसहित ८ पदक जितेको छ।