नेपाल क्रिकेट संघ (क्यान) ले भारतका मनोज प्रभाकरलाई सोमबार नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गर्यो। पुबुदु दसानायकले कार्यकाल बाँकी छदै राजीनामा दिएपछि क्यानले ५९ वर्षीय प्रभाकरलाई नेपालको प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो।
३९ टेस्टमा भारतको प्रतिनिधित्व गरेका अलराउन्डर प्रभाकरको जन्म सन् १९६३ भारतको उत्तर प्रदेशको गाजियाबादमा भएको थियो। उनी एकै खेलमा भारतका लागि ब्याटिङ र बलिङको ओपनिङ गर्ने दुर्लभ क्रिकेटर थिए।
प्रभाकरले खेलेका ३९ टेस्टमा ३७.३० को औसतमा ९६ टेस्ट विकेट लिए भने १६०० रन बनाए। उनले १३० एकदिवसीय र १५४ पहिलो श्रेणीको क्रिकेट खेले।
उनले सन् १९९० को दशकमा भारतको राष्ट्रिय टोलीमा नियमित रूपमा खेलेका थिए। प्रभाकर सामान्यतया तल्लो क्रमका ब्याट्सम्यान थिए, तर सन् १९९२-९३ मा इङ्ल्यान्ड सिरिजमा ओपनरको रूपमा राम्रो प्रभाव पार्न प्रयोग गरिएको थियो।
सन् १९९६ को विश्वकपमा श्रीलंका विरुद्ध धेरै रन दिएका कारण घरेलु दर्शकले उनलाई गाली गरेका थिए। लगत्तै उनको करियर अपमानजनक ढंगले सकियो। टोलीबाट बाहिरिएपछि उनले अर्को खेलमा नै संन्यासको घोषणा गरेका थिए।
प्रभाकर २०१६ को टी-२० विश्वकपअघि अफगानिस्तानको बलिङ प्रशिक्षक नियुक्त भएका थिए। उनले भारतीय महिला टोलीको प्रशिक्षक पदका लागि पनि आवेदन दिए पनि नियुक्त हुन असफल भएका थिए।
प्रभाकरको करिअर विवादले भरिएको थियो। उनले आफ्नो एकदिवसीय करिअरमा कहिल्यै छक्का प्रहार गर्न सकेनन्, जबकि टेष्टमा चार पटक प्रहार गरेका थिए।
उनी १९९६ मा कांग्रेस पार्टीमा प्रवेश गरेका थिए।
सन् २०११ मा उनले दिल्ली क्रिकेट टिममा प्रशिक्षकको रुपमा खराब कार्यकाल बिताएका थिए। सार्वजनिक रूपमा खेलाडी र छनोटकर्ताको आलोचना पछि उनी दिल्ली क्रिकेट टोलीको प्रशिक्षकबाट बर्खास्त भएका थिए। मूख्य छनोटकर्ता चेतन चौहानले प्रभाकरको आलोचना गरेका थिए र उनीमाथि टोलीमा दरार पैदा गरेको समेत आरोप लगाएका थिए।
त्यतिबेला पञ्जाबको हरियो ट्र्याकमा घरेलु टी-२० खेलकै क्रममा खेलाडी र प्रशिक्षक प्रभाकरबीच असमझदारी बढेको थियो। दिल्लीका कप्तान मिथुन मनहासले आशिष नेहरा र इशान्त शर्मा जस्ता बलरहरू भए पनि आफ्नो टोलीले पहिले ब्याटिङ गर्ने निर्णय गरे। यो निर्णय मनोज प्रभाकरको पहिले बलिङ गर्ने निर्णयको विरुद्ध थियो। पञ्जाबका मध्यम गतिका बलरहरूको घातक स्पेलका कारण दिल्लीले २० ओभरमा ९० रन पनि जोड्न सकेन।
दिल्ली त्यसअघि रणजी ट्रफीको क्वाटरफाइनलमा पुग्न असफल भएको थियो। प्रभाकरले छनोटकर्ता र नयाँ अनुहार समेटेर प्रतिभा प्रवर्द्धन नगरेकाले खराब नतिजा आएको बताएका थिए।
उनले दिल्लीका युवा स्टार उन्मुक्त चन्द र सिनियर ब्याट्सम्यान शिखर धवनको पनि आलोचना गरेका थिए।
तहल्का म्यागजिनसँगको स्टिङ अपरेशनमा प्रभाकरले १९८३ को विश्वकप विजेता कप्तान कपिल देव, सुनील गावस्कर, नवजोत सिंह सिद्धु र किरेन मोरेले ड्रेसिङ रुममा म्याच फिक्स गर्ने गरेको दाबी गरेका थिए।
तर, पछि प्रभाकर आफैं पनि म्याच फिक्सिङको आरोपमा दोषी ठहर भए। वेस्ट इन्डिजविरुद्धको खेलमा फिक्सिङ गरेको फेला परेपछि सन् २००० मा उनलाई भारतको क्रिकेट बोर्डले प्रतिबन्ध लगाएको थियो। उनको ५ वर्षपछि प्रतिबन्ध हटाइएको थियो।
त्यतिबेला फिक्सिङको विषयमा भारतको खेलकुद मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) लाई छानबिन गर्न र भारतीय खेलाडीको संलग्नता पत्ता लगाउन आग्रह गरेको थियो।
सन् १९९४ मा श्रीलंकामा भएको सिरिजमा पाकिस्तानविरुद्धको खेल खेल्नका लागि कपिल देवले आफूलाई पैसा दिने प्रस्ताव गरेको अलराउन्डर प्रभाकरले दाबी गरेपछि भारतीय क्रिकेट विवादमा परेको थियो।
सन् १९८३ को विश्वकप विजेता कप्तानले एक टिभी अन्तर्वार्ताको क्रममा उक्त आरोपलाई अस्वीकार गरेका थिए।
सीबीआईको अनुसन्धान प्रतिवेदनले क्रिकेट फिक्सिङमा अन्डरवर्ल्डको संलग्नतालाई औंल्याएको थियो।
सीबीआईले अजहरुद्दीन, प्रभाकर र अजय जडेजासँग अन्तर्वार्ता लिएको थियो। साथै उनीहरू पनि फिक्सिङमा संलग्न भएको बताएको थियो। तर बीसीसीआईले आफै छानबिन गरेको थियो।
पछि बीसीसीआईले अजहर र अजय शर्मालाई आजीवन लगायो भने प्रभाकर, अजय जडेजा र पूर्व भारतीय फिजियो अली इरानीलाई पाँच वर्षको लागि प्रतिबन्ध लगाएको थियो।
दिल्ली उच्च अदालतले जनवरी २००२ मा जडेजाको प्रतिबन्ध खारेज गरेपछि उनी घरेलु क्रिकेट खेल्न फर्केका थिए। २००९ मा कांग्रेस सांसदको रूपमा निर्वाचित अजहरले आन्ध्र प्रदेश उच्च अदालतमा निवेदन दिए, जसले उनको आजीवन प्रतिबन्ध हटायो।