जिम्बावेविरुद्धको एकदिवसीय सिरिजमा बंगलादेश क्लिन स्विप हुनबाट जोगिएको छ।
यसअघिनै सिरिज हारिसकेको बंगालदेशले गए राति हरारेमा भएको अन्तिम खेलमा घरेलु टोलीलाई १ सय ५ रनले हराउँदै तीन खेलको सिरिज २-१ मा टुङ्गाएको हो।
बंगलादेशले दिएको २५७ रनको लक्ष्य पछ्याएको जिम्बावे ३२.२ ओभरमा अलआउट हुँदै १ सय ५१ रनमा समेटियो।
जिम्बावेका रिचार्डले अविजित रहँदै सर्वाधिक ३४ रन बनाए। उनले २७ बलमा ६ चौका र १ छक्का प्रहार गरे। यता, भिक्टर न्याउचीले ३१ बलमा ३ छक्का र १ चौकासहित २६ रन प्रहार गरे। क्लिभ मडान्डेदेले २४ रन बनाए।
अतिरिक्तबाट २५ रन पाएको जिम्बावेका बाँकी खेलाडीले राम्रो पदर्शन गर्न सकेनन्।
जिम्बावेलाई सस्तैमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले सर्वाधिक ४ विकेट लिए। यस्तै ताइजुल इस्लाम र एबाडोट होसेनले समान २-२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५६ रन बनाएको थियो।
बंगलादेशका अफिफ होसेनले अविजित रहँदै सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ८१ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
यस्तै अनामुल हकले ७१ बलमा ६ चौका र ४ छक्कासहित ७६ रनको अर्धशतकीय इनिङ्स खेले। महमुदउल्लाहले ३९ रन जोडे। कप्तान तामिम इक्वालले १९ रन जोड्दा अतिरिक्तबाट १८ रन जोडेको थियो।
जिम्बावेका ब्राड इभान्स र लुक जोन्वीले समान २/२ विकेट लिए।