अफगानिस्तानविरुद्धको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा घरेलु टोली आयरल्याण्ड ५ विकेटले विजयी भएको छ। सिरिजमा आयरल्याण्डको यो लगातार दोस्रो जित हो। यसअघि पहिलो खेलमा आयरल्याण्डले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो।
दोस्रो खेलमा अफगानिस्तानले दिएको १२३ रनको लक्ष्य आयरल्याण्डले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। उसका लागि कप्तान एन्ड्रयु बलबर्नीले सर्वाधिक ४६ रन बनाए। यस्तै लोर्कन टकरले २७ र जर्ज डकरेलले अविजित २५ रनको योगदान दिए।
अफगानिस्तानका लागि कप्तान मोहम्मद नाबीले दुई, मुजीउर रहमान, नवीन–उल–हक र फजलहक फारुकीले एक/एक विकेट लिए।
त्यसअघि बेलफास्टस्थित सिभिल सर्भिस क्रिकेट क्लबमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनायो ।
उसका लागि हसमतुल्लाह शहिदीले सर्वाधिक ३६ रन बनाए। इब्राहिम जाद्रनले १७, अजमतुल्लाह ओमरजाईले ११ र नवीन–उल–हकले अविजित १० रनको योगदान दिए। बाँकी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
आयरल्याण्डका लागि जोस लिटल, मार्क आदिर, कर्टिस क्याम्फर र ग्यारेथ डेलानीले दुई-दुई विकेट हात पारे।
यो जितसँगै पाँच खेलको सिरिजमा आयरल्याण्डले २–० को अग्रता लिएको छ। आयरल्याण्ड र अफगानिस्तानबीचको तेस्रो खेल शुक्रबार हुँदैछ।