नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौं आईपुगेका छन्।
मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ काठमाडौँ ओर्लिएका हुन्। मुख्य प्रशिक्षक प्रभाकरलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गरेका छन्।
विमानस्थलमा बाहिरिँदै गर्दा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली क्रिकेट र खेलाडीको बारेमा आफूलाई जानकारी रहेकोले केही समयमा परिवर्तन देखिने गरि काम गर्ने प्रतिक्रिया दिएका छन्।
मुख्य प्रशिक्षक प्रभाकरले आफ्नो क्रिकेटको अनुभवले नेपाली क्रिकेट खेलाडीलाई अरूभन्दा फरक तरिकाले प्रशिक्षण दिन सक्ने बताए। आफूले सजिलोको लागि जिम्मेवारी नलिएको भन्दै मुख्य प्रशिक्षक प्रभाकरले अन्तर्राष्ट्रियस्तरको टीम बनाउन सक्दो मेहनत गर्ने बताए।
मुख्य प्रशिक्षक पुबुदु दासानायकेले अचानक राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो। मुख्य प्रशिक्षक प्रभाकरसँग क्यानले एक वर्षको सम्झौता गरेको बताएको छ।
भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन्। मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्ध हुने भएको छ।
पुबुदु दसानायकेको प्रशिक्षणमा पछिल्ला दुई भ्रमणमा नेपाली टिमले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भयो। विभिन्न समस्या देखाउँदै पुबुदु बाहिरिएसँगै नयाँ प्रशिक्षकका लागि चुनौती भने धेरै छन्।
नेपाली क्रिकेटमा रहेका विभिन्न चुनौतीको सामना गर्न प्रभाकरलाई सहज भने हुनेछैन। किनभने प्रभाकर पहिलोपटक नेपालमा क्रिकेट प्रशिक्षक बनेर आउँदैछन्। यस्तै उनले कुनै पनि राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको नेतृत्व पहिलो पटक सम्हाल्न लाग्दैछन्।
पछिल्लो पटक नेपालले स्कटल्याण्ड भ्रमण गर्दा नेपाली राष्ट्रिय टिमले अपेक्षा अनुसारको नतिजा निकाल्न सकेन। चार खेलमध्ये एक खेलमा जित नतिजा निकालेको नेपालले बाँकी तीन खेल गुमाएपछि विभिन्न कारण केलाउन थालिएको छ।
मुख्यतः टोलीको एकता, ब्याटिङ समस्या सतहमा देखिन थालेका छन्। यससँगै एकदिवसीय मान्यता गुम्ने डर पनि त्यत्तिकै छ।
क्यानले प्रभाकरलाई मासिक १५ हजार डलरसहित अनुबन्ध गरेको क्यानका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए। उनले प्रभाकरको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले थप उचाइ प्राप्त गर्ने विश्वास गरे।
उनले भने, ‘पुबुदुलाई हामीले दुई वर्षको सम्झौता गरेर ल्याएका थियौं। पारिवारिक कारणले उहाँ जानुभयो। रिक्त भएको पदमा लामो कसरतपछि मनोज प्रभाकरलाई जिम्मा दिने निर्णय गरेका छौं। उहाँलाई हाराहारी १४-१५ हजार डलर (करसहित) दिने सहमति भएको छ। उहाँ अनुबन्ध भएसँगै नेपाली क्रिकेटले थप उचाइ पाउने अपेक्षा राखेको छ। किनभने कुनै समय भारतका लागि प्रभावकर अब्बल खेलाडी थिए। पछिल्लो समय अफगानिस्तानलाई टेस्ट नेशन्स बनाउन उहाँको देन निकै महत्वपूर्ण थियो।’
प्रशिक्षक प्रभाकर शनिबार साँझ नेपाल आएसँगै उनलाई सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गर्नुपर्ने पहिलो चुनौती रहेको छ।
प्रभाकर जहाँ क्रिकेटका लागि कुनै पनि कुराको अभाव अब्बल देश भारतका खेलाडी हुन्। उनलाई नेपालमा भएको सीमित स्रोत साधनको अधिकतम प्रयोग गर्दै विश्वस्तरमा प्रतिष्पर्धा गर्न योग्य टोली बनाउने चुनौती हुनेछ।
अहिले टोलीमा नयाँ युवा खेलाडीको वर्चश्व छ। टोलीमा अनुभवी खेलाडी कम छन्। यही अवस्थामा क्यानका मिडिया म्यानेजर दुर्गाराज पाठकले नयाँ प्रशिक्षकले युवा खेलाडीलाई समेट्दै अनुभव दिलाउने बताए। उनले ब्याटिङ पक्षको सुधारलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताए।
उनले भने, ‘अहिले नेपाली टोली ब्यालेन्स टिम छ। युवा टोलीको वर्चश्व छ, जुन माथि चढ्ने क्रममा छ। नयाँ टोलीले जिम्मेवारी लिन चाहन्छ। सिनियर खेलाडीले विस्तारै विश्राम लिने अवस्था पनि छ। अहिले टोलीमा ब्याटिङको समस्या देखिएको छ। क्रिकेटको स्तर अघि बढाउनका लागि प्रशिक्षकसँग हामीले योजना माग्छौं। उहाँले ल्याएको योजनालाई हामी सम्बोधन गर्छौं।’
घरेलु एक दिवसीय प्रतियोगिता पछिल्लो दुई वर्षदेखि आयोजना हुन नसक्दा नेपालको लगानी कुन स्तरको छ भन्ने प्रष्ट देखाएको छ।
नेपाल, ओमान, स्कटल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया, अमेरिका र युएईलाई एसोसियटका शीर्ष टोलीका रूपमा लिइन्छ। तर, लगानी र संरचनाको हिसाबमा नेपाल र ती देशको स्तर आकाश पातलको फरक छ।
तत्कालका लागि नेपाली टोलीको बलिङ औसत भए पनि सबैभन्दा ठूलो कमजोरी ब्याटिङ देखिएको छ। नेपालले हार्ने प्रायः सबै खेलको प्रमुख कारण कमजोर ब्याटिङ नै हुने गर्छ।
प्रशिक्षक प्रभाकरलाई पूर्वप्रशिक्षकले दर्शाएको टोली भित्रको गुट-उपगुटको अन्त्य गर्नुपर्ने अर्को चुनौती हुनेछ।
मुख्य खेलाडी र युवा खेलाडीबीच तालमेलको अभाव देखिन थालेको छ भने एक सदस्यले अर्को सदस्यलाई साथ नदिएको आरोप पनि खेलाडीमा नलाग्ने गरेको होइन।
प्रभाकरका लागि अर्को चुनौती प्राप्त एक दिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउनु छ।
विश्वकप क्रिकेट लिग–२ को शीर्ष ३ मा रहँदै एक दिवसीय विश्वकपको बाटो जीवितै राख्नु तथा २०२४ को टी–२० विश्वकपमा नेपालको स्थान बनाउनु पनि प्रभाकरका लागि अर्को प्रमुख चुनौती हुनेछ।