नवनियुक्त नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले २-३ महिना भित्र नै नेपाली टोलीको ब्याटिङमा सुधार गर्ने दाबी गरेका छन्।
मुख्य प्रशिक्षक प्रभाकरले आईतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई २-३ महिनामा नै सुधार गर्ने बताएका हुन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्रभावकरले पहिलो दिन आईतबार कीर्तिपुरस्थित त्रिभूवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सबै खेलाडीको ब्याटिङ हेरेको र उनीहरूमा भएको कमी कमजोरी भेटाएको भन्दै सुधार गर्ने बाचा गरेका हुन्।
प्रभाकरले नेपाली खेलाडीले आईपिएलको सिको गरिरहेको भन्दै खेलाडीमा टेक्निक नभएको र टेक्निकलाई सुधार गर्ने बताए।
मैले आज नेपाली टोलीको अभ्यास हेरेँ, मलाई उनीहरूसँग टेक्निकल कमजोरी रहेको अनुभूती भयो, उनीहरुको लक्ष्य कडा सटहरु प्रहार गर्नु थियो। टेक्निकल पार्टसँगै ब्याटिङ क्रममा पनि परिवर्तन हुने मैले विश्वास लिएको छु’, उने भने।
विश्व क्रिकेट लिग–२ मा नेपाली टोलीले २० खेल खेलिसकेको छ। नेपाली टोलीका लागि अब १६ खेल बाँकी रहेको भन्दै प्रशिक्षक प्रभाकारले धेरैभन्दा धेरै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ टोलीलाई अभ्यास गराउने बताए।
नेपाली टोलीले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आए पनि धेरै जसो खेलमा कमजोर ब्याटिङका कारण पराजित हुने गरेको प्रशस्तै उदाहरणहरु छन्। तर पछिल्लो समय टोली भित्र नै विवाद भइरहेको अवस्थामा प्रशिक्षक प्रभाकरलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने चुनौती छ।
खेलाडीबीच गुट/उपगुट पनि टोलीको अर्को समस्या रहेको छ। यस्तै अवस्थामा कसरी अगाडि बढाउनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रशिक्षक प्रभाकारले कुनै पनि परिवार भित्र समूह भएको अवस्थामा परिवारलाई सफलता नमिल्ने भन्दै र परिवार भित्रको पीडा सबैको पीडा हुने र समाधान गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए।
‘टोली एकताले नै सफलता हात पार्ने हो’, प्रभावकरले भने, ‘हामी सबै एकै परिवारको सदस्य हौ । टोलीमा केही समस्या छ भने हामीले त्यसको समाधान गर्दै जानुपर्छ ।’
यस्तो समस्या सबैतिर हुने गरेको र यसलाई समाधान गर्न जिम्मेवारी दिएको अवस्थामा समस्या सुल्झिने बताए।
अहिलेको अवस्थामा नेपाली टोलीभित्र युवा खेलाडीको बाहुल्यता छ। खेलाडीको औसत आयु २२ वर्ष भएको भन्दै उनीहरूका लागि सिकाई महत्वपूर्ण हुने प्रशिक्षको बुझाई छ। यस्तै उमेर समूहले छिटो सिक्ने र प्ररिणाम पनि चाँडै देखाउने विश्वास प्रशिक्षक प्रभाकर व्यक्त गरे। प्रशिक्षक प्रभाकार क्यानेडियन प्रशिक्षक पुबुदु दाशानायकेको राजीनामा पछि नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न शनिबार नेपाल आएका हुन्।