स्कटल्याण्डले आईसीसी विश्वकप लिग टू अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकालेको छ।
मनोफिल्ड क्रिकेट मैदानमा आईतबार राति भएको खेलमा युएईलाई ८६ रनले हराउँदै स्कटल्याण्डले जारी लिगमा १९ औं जित निकालेको हो।
घरेलु टोलीले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको युएई ४१ ओभरमा अलआउट हुँदै १ सय ६८ रनमा समेटियो। उसका लागि भृत्य अरबिन्दले सर्वाधिका ५० रनको अर्धशतकीय ईनिङ खेले। मोहम्मद वासिम तथा कासिफ दाउदले समान २३/२३ रन बनाए। यस्तै आर्यन लाक्रा र जुनिद सिद्धिकीले १२-१२ रन जोडे। कप्तान अहमद राजा ३ रनमा आउट हुँदा चिराग सुरीले १४ रन जोडे। रोहन मुस्ताफा शून्यमा आउट भए।
युएईलाई सस्तैमा समेट्न घरेलु टोलीका मार्क वाटले सर्वाधिक ५ तथा क्रिस सोलले २ विकेट लिए। हम्जा ताहिर,सफियान सरिफ र मिचेल लिग्सले समान १-१ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५४ रन बनायो।
उसका लागि उसका लागि कलुम म्याकलोयड र म्याथ्यु क्रसले अर्धशतकीय ईनिङ खेले।
९२ बल खेलेका कप्तान क्रसले ८५ तथा १०७ बल खेलेका म्याकलोयडले ७७ रन जोडे। यस्तै मार्क वाटले २९ रन बनाउँदा मिचेल जोन्सले १४ रन बनाए।
यूएईका अहमद राजा तथा वासिल हमिदले २-२ तथा रोहन मुस्ताफा,कासिफ दाउद,जाहोर खान र जुनेद सिद्धिकिले समान १-१ विकेट लिए।
यो जितसँगै दोस्रो स्थानमा रहेको स्कटल्याण्डले २७ खेलबाट ४० अंक जोडेको छ। यस्तै २५ खेल खेलेको युएई २६ अंकसहित तेस्रो तथा २६ खेलबाट २५ अंक जोडेको अमेरिका चौथो स्थानमा छ। सोमबार अमेरिकालाई तेस्रो स्थानमा उक्लने मौका हुनेछ। सिरिज अन्तर्गतको चौथो खेल आज अमेरिका र यूएईबीच हुनेछ।
यस्तै तालिकाको पाँचौ स्थानमा १८ अंकसहित नामिबिया रहँदा १७ अंक जोडेको नेपाल छैठौं स्थानमा छ। पुछारमा २ अंक जोडेको पपुवान्युगिनी छ। शीर्ष स्थानमा रहेको ओमानको ४४ अंक छ।