रासिद खानको अलराउण्ड प्रदर्शनमा अफगानिस्तानले आयरल्यान्डविरूद्धको चौथो टी–२० क्रिकेटमा २७ रनको जित निकालेको छ।
अफगानिस्तानको यो जितसँगै ५ खेलको सिरिज २-२ को बराबरीमा पुगेको छ।
निरन्तर पानी परेका कारण खेल ११ ओभरमा छोट्याइएको खेलमा अफगानिस्तानले दिएको १ सय ३३ रनको लक्ष्य पछ्यएको घरेलु टोलीले १ सय ५ रन मात्र बनाउन सक्यो।
उसका जर्जी ड्याकरोलले अविजित ४१ तथा पउल स्ट्रलिङले २० रन बनाए। यस्तै कप्तान एन्डी बालबर्नीले १५ रन बनाउँदा ह्यारी टेक्टरले १३ रन जोडे।
अफगानिस्तानका फरिद अहमदले ३ तथा नवीन उल हक र रासिद खानले समान २-२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ११ ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । उसका नजिबुल्लाह जाड्रनले बिस्फोटक ब्याटिङ गर्दै २४ बलमा ३ छक्का र ४ चौकासहित ५० रनको अर्धशतकीय पारी खेले।
रासिद खानले १० बलमा ३१ रन बनाउने क्रममा ३ छक्का र १ चौका प्रहार गरे। यस्तै रामानुल्लाह गुर्भाजले १३ बलमा २४ रन बनाए।
आयरल्यान्डका गारिथ डिलेनीले ३ तथा मार्क अडिर, बारी म्याककार्थी र फियो ह्यान्डले समान १-१ विकेट लिए।
दुई देशबीचको पाँचौँ तथा निर्णायक खेल बुधबार हुनेछ।
यसअघि पहिलो खेलमा आयरल्याण्ड ७ विकेटले विजयी हुँदा दोस्रो खेलमा ५ विकेटको जित निकालेको थियो। त्यसपछि लगातार जित निकालेको अफगानिस्तानले तेस्रो खेलमा २२ रनले हराएको थियो।