नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले युएईको फ्रेन्चाईज क्रिकेट ‘युएई इन्टरनेसनल टी-ट्वान्टी’ लिग डेजर्ट भाइपर्सबाट खेल्ने भएका छन्।
लिगको मार्की खेलाडीको रूपमा रहेका सन्दीपलाई भाइपर्सले शुक्रबार प्रतियोगिताका लागि अनुबन्ध गरेको हो।
भाइपर्सले सन्दीपसँगै इङ्ल्याण्डका ६ जना, वेष्टइन्डिजका २ जना, श्रीलंका, पाकिस्तान, न्युजिल्याण्ड र नामिबियाका १-१ जना खेलाडीलाई अनुबन्ध गरेको छ।
टोली युवा र अनुभवी खेलाडीहरूले भरिएको छ। यस्तै टम मुडीलाई क्रिकेट निर्देशकको रूपमा र जेम्स फोस्टरलाई डेजर्ट भाइपर्स टोलीका लागि मुख्य प्रशिक्षकको रूपमा भित्र्याएको छ।
यी हुन् भाइपर्सले अनुबन्ध गरेका १३ विदेशी खेलाडीहरू
- टोम कुरान-इङ्ल्याण्ड
- बेन डकेट-इङ्ल्याण्ड
- एलेक्स हल्स-इङ्ल्याण्ड
- साम बिलिङ्स-इङ्ल्याण्ड
- साकिब महम्मद-इङ्ल्याण्ड
- बेनी होवेल-इङ्ल्याण्ड
- शेल्डन कोट्रेल-वेस्ट इन्डिज
- शेर्फेन रदरफोर्ड-वेस्ट इन्डिज
- वानिन्दु हसरंगा-श्रीलंका
- अजाम खान-पाकिस्तान
- सन्दीप लामिछाने-नेपाल
- कोलिन मुनरो-न्यूजील्याण्ड
- रूबेन ट्रम्पलम्यान- नामिबिया
ईमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुअरी १२ सम्म हुनेछ।
प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ ।
प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउने छन् । जसमा १४ विदेशी खेलाडी राख्न पाईनेछ ।
यस्तै हरेक टोलीले तीन जना यूएईका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू-२३ टिमका खेलाडी अनिवार्य गरिएको छ।
प्लेईङ-११ मा भने कम्तिमा एक जना युएई र एसोसियट राष्ट्रका खेलाडी हुनुपर्नेछ।