भारतले जिम्वावेविरूद्धको एकदिवसीय सिरिज एक खेल अगावै जितेको छ।
शनिबार दोस्रो खेलमा ५ विकेटले हराउँदै भारतले तीन खेलको सिरिज एक खेल अगावै २-० ले जितेको हो।
जितको लागि १ सय ६२ रनको लक्ष्य पछ्याएको भारतले २५.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। भारतका लागि विकेटकिपर सञ्जु स्यामसनले ३९ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४३ रन बनाए।
ओपनर शिखर धवन २१ बलमा ४ चौकासहित ३३ रन बनाउँदा कप्तान लोकेश राहुल १ रनमा आउट भए। ईशान किशनले ६ रन बनाउँदा दीपक हुडा २५ रनमा आउट भए। शुभमन गिलले ३४ बलमा ६ चौकासहित ३३ रन जोडे। जिम्बावेका ल्युक जोंगवेले सर्वाधिक दुई विकेट लिए।
सिकन्दर राजा, भिक्टर न्याउची र टंक चिभाङ्गाले १-१ विकेट हात पारे।
त्यसअघि हरारे स्पोट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावे ३८.१ ओभरमा अलआउट हुँदै १ सय ६१ रन बनायो।
उसका लागि सेन विलियम्सले ४२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए। यस्तै रयान बर्लले ४७ बलमा ३ चौका र १ छक्कासहित ३९ रन जोडे। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। सिकन्दर राजा र इनोशेन्ट कैयाले समान १६-१६ रन जोडे।
भारतका सबै बलरले विकेट लिएको खेलमा शार्दुल ठाकुरले सर्वाधिक तीन विकेट लिए। मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, अक्षर पटेल, कुलदीप यादव र दीपक होडाले १-१ विकेट हात पारे।
यसअघि पहिलो खेलमा भारत १० विकेटले विजयी भएको थियो। अब तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ।