दाहिने घुँडाको लिगामेन्टमा लागेको चोटका कारण पाकिस्तानका तीव्र गतिका बलर शाहीन अफ्रिदी अझै कम्तिमा ६ साता मैदान बाहिर रहने भएका छन्।
उनलाई चिकित्सक टोलीले अझै ४–६ हप्ता आरामको सल्लाह दिएका छन्। जसका कारण अफ्रिदी आगामी एसिया कपबाट बाहिरिएका छन्। मूख्य बलर बाहिरिएपछि पाकिस्तानलाई एसिया कपअघि ठूलो झट्का लागेको छ ।
अफ्रिदीले एसिया कप र इंग्ल्यान्ड विरुद्धको घरेलु शृंखला गुमाउने छन् तर न्युजिल्यान्डको टी-२० त्रिकोणीय शृंखला र अस्ट्रेलियामा हुने टी-२० विश्वकप अघि फर्किने अपेक्षा गरिएको छ।
गत महिना श्रीलंकाविरुद्धको पहिलो टेस्टमा फिल्डिङ गर्ने क्रममा उनको दाहिने घुँडाको लिगामेन्टमा चोट लागेको थियो ।
एसिया कपका लागि पीसीबीले छिट्टै शाहिनको विकल्पको घोषणा गर्नेछ।
एसिया कपमा पाकिस्तान र भारतबीचको खेल बहुप्रतिक्षित छ। भारत र पाकिस्तानबीच अगस्ट २८ मा खेल हुने तय छ।
एसिया कपका लागि पाकिस्तानी टोलीः बाबर आजम (कप्तान), शादाब खान, आसिफ अली, फखर जमान, हैदर अली, हरिस रउफ, इफ्तिखर अहमद, खुशदिल शाह, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वासिम जुनियर, नसीम शाह, शाहनवाज दहनी, उस्मान कादिर।