अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरले सिड्नी थन्डरसँगको दुई वर्षको सम्झौतासँगै बिग ब्यास लिग (बीबीएल) मा पुनरागमन गर्ने भएका छन्।
सिड्नीमा आबद्ध भएसँगै उनले आफूमाथिको कप्तान बन्न आजीवन प्रतिबन्धको निर्णय हटाउन क्रिकेट अस्ट्रेलियालाई आह्वान गरेका छन्।
वार्नरलाई केप टाउनमा २०१८ दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल टेम्परिङ घटनामा संलग्न भएकोमा दोषी ठहर गरिएको थियो। त्यतिबेला तीन खेलाडीहरूमध्ये सबैभन्दा ठूलो सजाय उनलाई दिइएको थियो। स्टिभन स्मिथ र क्यामरन ब्यानक्रफ्ट पनि दोषी पाइएका थिए।
त्यतिबेला वार्नरलाई बाँकी करिअरको लागि अस्ट्रेलियाली क्रिकेटमा कुनै पनि नेतृत्वको पदमा काम गर्न रोकिएको थियो।
यद्यपी, वार्नरलाई कम्तिमा बीबीएलमा कप्तान गर्न अनुमति दिन निर्णयलाई उल्टाउन आवश्यक छ भन्ने भावना बढ्दै गएको छ।
उस्मान ख्वाजा ब्रिस्बेन हिटमा गएपछि थन्डरलाई २०२२-२३ सिजनका लागि नयाँ कप्तानको आवश्यकता पर्नेछ।
अस्ट्रेलियाका टेस्ट कप्तान प्याट कमिन्स वार्नरमाथि लगाइएको प्रतिबन्ध हटाउने पक्षमा रहेका छन्।
यता २०१८ मा कप्तान रहेका स्मिथलाई दुई वर्ष कप्तान बन्न प्रतिबन्ध लगाइएको थियो। स्मिथले गत वर्ष एडिलेडमा इङ्ल्यान्ड विरुद्धको दोस्रो टेस्टमा अस्ट्रेलियाको नेतृत्व गरेका थिए।