नेपाली विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेल सिजन २०२२-२३ को बिग ब्यास लिग (बिबिएल) को 'ड्राफ्ट'मा समावेश भए पनि आयोजकको गल्तीका कारण उनको देश भने फरक परेको छ।
अस्ट्रेलियाको फ्रेञ्चाइज क्रिकेट लिग बिबिएलको 'ड्राफ्ट'मा सुवाससहित १६९ विदेशी खेलाडी समावेश छन्। यी खेलाडी विभिन्न १३ देशका छन्।
तर सुवासको नाम भने क्यानेडियन खेलाडीको रुपमा छ। क्यनडाबाट सुवासको नामसहित कैरव शर्माको नाम पनि समावेश छ।
आफ्नो नाम क्यानेडियन खेलाडीको सूचीमा परे पछि सुवासले आफू नेपालको तर्फबाट ड्राफ्टमा भएको बताए। साथै आयोजकले नेपाल क्रिकेट संघ (क्यान) लाई क्यानडा सम्झेर गल्ती भएको हुन सक्ने पनि बताए।
सिजन २०२२-२३ को बिबिएलको 'ड्राफ्ट'मा नेपालका कप्तान सन्दीप लामिछाने पनि छन्।
बिबिएलका टिमले आगामी २८ अगस्टमा 'ड्राफ्ट'मार्फत विदेशी खेलाडी आफ्नो टिममा भित्र्याउनेछन्। बिबिएल टिमले यसपटकदेखि 'ड्राफ्ट'मार्फत विदेशी खेलाडी भित्र्याउन लागेका हुन्।
क्रिकेट अस्ट्रेलियाका अनुसार सन्दीप यसपटक पनि होबार्ट हरिकेन्सले 'रिटेन' गर्न योग्य खेलाडी हुन्। सन्दीपले यसअघि लगातार दुई सिजन हरिकेन्सबाट खेलिसकेका छन्। हरिकेन्सबाट खेल्नुअघिको दुई सिजन सन्दीपले मेलवर्न स्टार्सबाट खेलेका थिए।
सन्दीपले बिबिएलमा लगातार चार सिजनमा ४३ खेल खेलिसकेका छन्। जसमा उनले ४८ विकेट विकेट लिएका छन्।
बिबिएलमा उनको उत्कृष्ट प्रदर्शन ३ विकेट लिएर २६ रन दिनु हो।