केन्याविरूद्धको टी-२० र एकदिवसीय सिरिज खेल्न जाने नेपाली टिम एकैपटक केन्या जान पाएन।
सोमबार ११ खेलाडी केन्यातर्फ लागेका थिए। तर पाँच खेलाडीको भिसा समयमै नआउदा समस्या भयो। सोमपाल कामी, विवेक यादव, आदिल अन्सारी, बसिर अहमद र साहब आलम टिमसँगै केन्या जान पाएनन्।
यस्तै ट्रेनर अब्दुल सतार र म्यानेजर सुनिल महासेठ पनि भिसा नआएपछि नेपालमै छन्।
सोमपाल र विवेकको मंगलबार राति भिसा आएपछि उनीहरू आज केन्या जाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। सोमपाल र विवेकसँगै म्यानेजर महासेठको पनि भिसा आएको छ।
बसिर, आदिल र साहब तथा ट्रेनर सतारको पनि बुधबार विहास भिसा आएको छ। उनीहरू पनि आजै केन्यातर्फ जानेछन्।
क्यानले केन्याको भिसाका लागि अनलाइन फारम भर्दा समस्या आएको बताएको छ। एउटै लिंकबाट फारम भर्दा कसैको भिसा आएको र कसैको नआएको क्यानको दाबी छ। भिसामा समस्या भएपछि अर्को लिंकबाट अनलाइन फारम भरिएको छ।
भिसाका कारण नेपाली टिमका सबै सदस्य केन्या पुग्न ढिलाइ भए पनि सिरिज भने सर्ने सम्भावना छैन।
नेपाल र केन्याबीचको सिरिज भोलि सुरु हुँदैछ। सुरुमा पाँच टी–२० अन्तर्राष्ट्रिय र त्यसपछि तीन एकदिवसीय खेल हुनेछ।
पहिलो टी–२० खेल भदौ ९ गते हुनेछ। यसैगरी नेपालले दोस्रो खेल भदौ १० गते खेल्नेछ भने तेस्रो खेल भदौ १२ गते खेल्नेछ। चौथो खेल भदौ १३ र अन्तिम खेल भदौ १४ गते खेल्नेछ।
यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ।