केन्याविरूद्धको पहिलो टी-२० मा नेपालले पहिले बलिङ गरिरहेको छ।
नैरोबीस्थित जिमखाना क्लब मैदानमा सुरु खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको हो।
नेपाली टिम : सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, विवेक यादव, पवन सर्राफ, आदिल अन्सारी
सिरिज नेपालका लागि टी-२० वरीयता सुधार गर्न र नयाँ प्रशिक्षक मनोज प्रभाकरलाई नेपाली खेलाडी चिन्न महत्वपूर्ण हुने विश्वास गरिएको छ।
नेपाल र केन्याबीच टी-२० मा ९ वर्षपछि भिडन्त हुन लागेको हो। यसअघि नेपाल र केन्या सन २०१३ को टी-२० विश्वकप छनोटमा प्रतिस्पर्धा गरेका थिए। शरद भेषवाकरले उत्कृष्ट फिनिसिङ गर्ने क्रममा अन्तिम ओभरमा तीन छक्कासहित २० रन प्रहार गरेपछि खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो।
एकदिवसीयमा भने नेपाल र केन्या तीन वर्षअघि भिडेका थिए।
प्रशिक्षक प्रभाकरले जिम्मेवारी सम्हालेसँगै नेपालले केन्यामा पाँच टी-२० र तीन एकदिवसीय खेल खेल्न लागेको हो।
नेपालले पहिलो आज पहिलो टी–२० खेल्दा दोस्रो खेल भदौ १० गते खेल्नेछ भने तेस्रो खेल भदौ १२ गते खेल्नेछ।
चौथो खेल भदौ १३ र अन्तिम खेल भदौ १४ गते खेल्नेछ।
यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ।