एसिया कप टी-२० प्रतियोगिता शनिबारदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुँदैछ। प्रतियोगिताका खेल दुबई र शारजाहको मैदानमा हुनेछ्न्।
प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, हङकङ र अफगानिस्तान सहभागी छन्।
अफगानिस्तान र श्रीलंकाबीच शनिबार हुने खेलसँगै सुरु हुने प्रतियोगिता सेप्टेम्बर ११ सम्म चल्नेछ।
भारत–पाकिस्तानबीचको खेल आइतबार हुँदैछ।
रोहित शर्माको नेतृत्वमा भारतीय टोली युएई पुगिसकेको छ। भारत-पाकिस्तानबीचको आइतबारको खेल अघि मैदानबाहिर एक रोचक दृश्य देखिएको छ।
पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी खुट्टामा चोट लागेको कारण एसिया कप खेल्न नसक्ने भएका छन्।
उनी घाइते खुट्टा लिएर मैदान बाहिर बसिरहेका दृष्य क्रिकेट पाकिस्तानले सेयर गरेको छ। उनको हातमा मोबाइल छ र उनले हात उठाएर खेलाडीलाई अभिवादन गरिरहेका छन्।
भारतीय स्पिनर युजवेन्द्र चहल जब उनको नजिक पुग्छन्। शाहिन बैशाखीको सहारा लिएर उठ्छन् र उनीसँग हात मिलाउँछन्।
त्यसपछि दुवै खेलाडी छेउछाउमा बस्छन् र एकअर्काको हालखबर सोध्छन्। दुवै खेलाडीको हाउभाउ निकै न्यानोपन देखिएको थियो। चहलले उनको चोटबारे सोधेका थिए।
शाहिनले चोट कसरी भयो र निको हुन कति समय लाग्ने बताउँछन्। त्यसपछि उनले विश्वकप खेल्न सक्ने बताउछन्।
शाहिनले चहलको स्वास्थ्यको बारेमा सोध्छन्। दुई खेलाडीले फेरि एकअर्कालाई हात र काँध मिलाउछन् अनि चहल हिड्छन्।
भारतका स्टार खेलाडी विराट कोहली केही टाढा देखिन्छन्। कोहलीले कानमा ब्लुटुथ इयरपिस लगाएका थिए। उनी अगाडि बढ्छन् र शाहिनसँग हात मिलाउँछन् र त्यसपछि कुरा गर्दा आफ्नो दाहिने इयरपिस निकाल्छन्।
दुबै खेलाडी मुस्कुराउँदै एकअर्कासँग कुरा गर्छन्।
भिडिओ पाकिस्तान क्रिकेट बोर्डले आफ्नो ट्विटर ह्यान्डलमा सेयर गरेको छ र क्रिकेट मैदानको छेउमा केही हाई प्रोफाइल बैठकहरू भएको लेखेको छ।
कोहली र शाहिनबीच के कुरा भयो थहा छैन। तर, कोहलीले शाहीनको चोटको बारेमा सोध्ने इशाराबाट थाहा हुन्छ। दुवै खेलाडी एकअर्कालाई हेरेर मुस्कुराउँछन्।
त्यसपछि शाहिन भारतका ब्याट्सम्यान तथा विकेटकिपर ऋषभ पन्तको अगाडि देखिन्छन्। दुवै खेलाडी हात मिलाउँछन् ।
त्यसपछि शाहिन भन्छन्, 'यार, म पनि तिमी जस्तै ब्याटिङ गर्न थाल्नुपर्छ भन्ने सोच्दैछु।' पन्त जवाफ दिन्छन्, 'फास्ट बलरले मिहिनेत गर्नुपर्छ सर!'
त्यसपछि पन्तले उनको चोट निको भइसक्यो भनेर सोध्छन्। अब पाँच साता लाग्ने शाहिन बताउँछन् ।
उनले पन्तलाई खेलको लागि शुभकामना दिए र उनी खेल हेर्न आउने बताए। त्यसपछि दुवै खेलाडी हात मिलाएर अगाडि बढ्छन्।
केही हिडेपछि शाहिनले भारतीय टोलीका उपकप्तान केएल राहुललाई भेट्छन्। उनले आफ्नो चोटबारे पनि बताउँछन् र विश्वकप खेल्न सक्ने बताउछन् ।
शाहिन अफ्रिदीलाई भारतीय टोलीका खेलाडीले मैदानबाहिर भेटेको भिडियो भाइरल भएको छ।
यी दुई कट्टर प्रतिद्वन्द्वी टोलीका खेलाडीहरूबीच यहाँ देखिएको न्यानोपनले मैदानमा यी खेलाडीहरू जतिसुकै एकअर्काविरुद्ध खेले पनि खेलको भावना उच्च रहेको देखाउँछ।
आइतबार भारत र पाकिस्तानको टोली आमनेसामने हुँदा शाहिन अफ्रिदी मैदानबाहिर बसेर खेल हेरिरहेका हुनेछन्।
आफ्नो उत्कृष्ट बलिङका लागि परिचित शाहीनले भारतविरुद्ध खेल्न नपाउँदा भने सायद दुःखी हुनेछन्।
त्यसो त पाकिस्तानका तीव्र गतिका पूर्वबलर वकार युनिसले शाहिन शाह अफ्रिदी चोटका कारण मैदान बाहिर भएकाले भारतीय ब्याट्सम्यानले राहतको सास फेर्न सक्ने बताएका थिए।