केन्याविरूद्धको दोस्रो टी-२० मा नेपालले पहिले बलिङ गर्ने भएको छ।
नैरोबीस्थित जिमखाना क्लब मैदानमा हुने खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो।
खेलमा विवेक यादवको स्थानमा बसिर अहमदले स्थान बनाएका छन्। यससँगै उनले टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गर्ने भएका छन्।
नेपाली टिम : सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, बसिर अहमद, पवन सर्राफ, आदिल अन्सारी
यसअघि हिजो भएको पहिलो टी-२० नेपालले घरेलु टिम केन्यालाई ५ विकेटले पराजित गरेको थियो।
सिरिज नेपालका लागि टी-२० वरीयता सुधार गर्न र नयाँ प्रशिक्षक मनोज प्रभाकरलाई नेपाली खेलाडी चिन्न महत्वपूर्ण हुने विश्वास गरिएको छ।
प्रशिक्षक प्रभाकरले जिम्मेवारी सम्हालेसँगै नेपालले केन्यामा पाँच टी-२० र तीन एकदिवसीय खेल खेल्न लागेको हो।
नेपालले तेस्रो खेल भदौ १२ गते, चौथो खेल भदौ १३ र अन्तिम खेल भदौ १४ गते खेल्नेछ।
यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ।