दोस्रो टी-२० मा नेपाललाई घरेलु टिम केन्याले १३३ रनको लक्ष्य दिएको छ।
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टिम केन्याले ९ विकेटको क्षतिमा १३२ रन जोड्यो।
केन्याका ओपनरद्वय एलेक्स ओबान्डा शून्य र ओबुया ९ रनमा आउट भए। दुवैलाई करण केसीले आउट गरेका थिए। सुरूवातमा सोमपालले दुई ओभर मेडन फ्याँकेका थिए। १७औं ओभरमा आफ्नो चौथो ओभर बलिङ गरेका सोमपालले १६ रन दिएका थिए।
केन्याका इर्फान करिमले २२ रन जोड्दा राखेप पटेलले ३५ रनको योगदान गरे। पटेलले २५ बलमा ४ चौका र १ छक्का हिर्काए।
सचिन भुडियाले १४ रन जोडे। २० बलमा ३१ रन जोडेका नेहेमियाह ओधिम्बो दीपेन्द्रसिंह ऐरीबाट १८औं ओभरमा बोल्ड भए।
बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए। उनले चार ओभरमा २६ रन दिए।
दीपेन्द्रसिंह ऐरीले पनि तीन विकेट लिए। उनले तीन ओभरमा १६ रन खर्चिए।
करण केसीले दुई विकेट हात पारे भने पवन सराफले एक विकेट लिए।
यसअघि नेपालले बिहीबार भएको पहिलो टी-२० खेलमा केन्यालाई ५ विकेटले पराजित गरेको थियो।
अब नेपालले तेस्रो खेल भदौ १२ गते, चौथो खेल भदौ १३ र अन्तिम खेल भदौ १४ गते खेल्नेछ।
यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ।