नेपाल र केन्याबीचको पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको छ।
आइतबार केन्यालाई पराजित गरेसँगै नेपालले सिरिजमा २-१ को अग्रता लिएको छ। यसअघि पहिलो टी-२० मा नेपाल विजयी भएको थियो भने दोस्रो खेलमा केन्याले जित हासिल गरेको थियो।
केन्याले दिएको १५७ रनको लक्ष्य नेपालले ३ बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा पार गर्यो।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६ रन जोडे। उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि ओपनर पवन सर्राफले १२ बलमा ३ चौका र १ छक्काको मद्दतमा २० रन जोडे। डेब्यू खेलाडी अर्जुन साउदले ३१ बलमा ३५ रन जोडे। उनले २ चौका र ३ छक्का प्रहार गरे।
दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए भने रोहित पौडेलले १८ बलमा ३ चौका र १ छक्का हिर्काउँदै २९ रन जोडे।
यस्तै आदिल अन्सारीले उत्कृष्ट प्रदर्शन गरे। उनले ७ बलमा २ चौका र १ छक्का हर्काउँदै १६ रन जोडे। विजयी चौका हिर्काएका आरिफ शेखले नटआउट ४ रन जोडे।
बलिङमा केन्याका विराज पटेल र ओचिङले २-२ विकेट लिए।
त्यसअघि नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको केन्याले २ विकेटको क्षतिमा १५६ रन जोड्यो।
केन्याका लागि राखेप पटेल र इर्फान करिमले अर्धशतक प्रहार गरे। पटेलले नटआउट ७३ रन र करिमले नटआउट ५५ रन जोडे। पटेलले ४३ बलमा ५ चौका र ४ छक्का तथा करिमले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
शुखदीप सिंह ८ रन र कोलिन्स ओबुया १४ रनमा आउट भए।
बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले २-२ विकेट लिए।
खेलमा नेपाली टिममा दुई परिवर्तन गर्दै साहब आलम र अर्जुन साउदलाई स्थान दियो। विकेटकिपर अर्जुनले यससँगै टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरे। टिमबाट आसिफ शेख र बसिर अहमेद बाहिरिए।
यसअघि भएको पहिलो खेलमा नेपालले ५ विकेटको जित निकालेको थियो। दोस्रो खेलमा भने केन्या विजयी भएको थियो।
दोस्रो खेलमा नेपालले खराब ब्याटिङ गर्दा हार बेहोर्नु परेको थियो। १३३ रनको लक्ष्य पछ्याएको नेपाल ११४ रनमै अलआउट भएको थियो। टी-२० वरीयताका लागि महत्वपूर्ण मानिएको सिरिजमा हार बेहोरेसँगै नेपाललाई घाटा पर्ने देखिएको छ।
६ दिनको अन्तरमा पाँच टी-२० खेल्न लागेको नेपालले चौथो खेल भोलि र पाँचौ खेल पर्सी खेल्नेछ।
यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ।