नेपालको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको वरीयता खस्किएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी-२० वरीयता एक स्थान घटेर १५ औं स्थानमा पुगेको छ।
अघिल्लो वरीयतामा नेपाल १४ औं स्थानमा रहेको थियो ।
वरीयता घटेसँगै नेपालले सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ ।
सन् २०२४ को टी-ट्वान्टी विश्वकपमा वरीयताको शीर्ष १२ टोलीले सिधै विश्वकपमा स्थान बनाउनेछन् ।
नेपाललाई नामिबियाले उछिनेको हो। नामिबिया १४औं, युएई १३ औं, आयरल्याण्ड १२ औं स्थानमा र जिम्वाबे ११ औं स्थानमा छ।
नेपालभन्दा पछि रहेको स्कटल्याण्ड १६, ओमान १७ औं, नेदरल्याण्ड १८ औं, पपुवा न्यूगिनी १९ औं र हङकङ २० औं स्थानमा छ।
टी-ट्वान्टीको नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ। इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन्।
यस्तै दक्षिण अफ्रीका चौंथो, न्युजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्टइन्डिज सातौं,श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा छन्।
एक दिवसीय वरीयतामा नेपाल १९ औं स्थानमा छ।