आइतबार राति दुबईमा भएको भारत–पाकिस्तानबीचको टी-२० खेलमा भारत ५ विकेटले विजयी भयो।
एसिया कपअन्तर्गतको खेलमा पराजित भए पनि पाकिस्तानका युवा खेलाडी चर्चामा रहे।
पाकिस्तानका १९ वर्षीय तीव्र गतिका बलर नसीम शाहले उत्कृष्ट प्रदर्शन गर्दै चर्चा बटुल्न सफल भए।
भारतविरुद्ध चुनौतीपूर्ण यो खेल नसीमको पहिलो अन्तर्राष्ट्रिय टी–२० खेल थियो। यद्यपी उनले यसअघि देशका लागि एकदिवसीय र टेस्ट खेल खेलिसकेका थिए।
पाकिस्तानले दिएको १४८ रनको लक्ष्य पछ्याउन भारत मैदान उत्रिएपछि पाकिस्तानका कप्तान बाबर आजमले सुरूमै नसीमको हातमा बल थमाए।
नसीमको पहिलो बललाई कप्तान रोहित शर्माले सामना गरे र एक रन लिए। त्यसपछि नसीमको दोस्रो बलको अगाडि केएल राहुल थिए। आफ्नो पहिलो ओभरको दोस्रो बलमा नसीमले राहुललाई बोल्ड गरिदिए।
राहुलपछि विराट कोहली मैदानमा आए। नसीमको पहिलो बल विराटले रोक्नु परेको थियो। विराट पनि छक्क परे र मुस्कुराउँदै केही भने।
नसीमको अर्को बल खतरनाक थियो जब कोहली आउट हुनबाट जोगिए। नसीमको बलले कोहलीको ब्याटको बाहिरी किनारामा लगेको थियो, बल हावामा थियो, तर तेस्रो स्लिपमा उभिएका फखर जमानले यसलाई समात्न सकेनन्।
जीवनदानपछि कोहली अर्को बलमा रन लिएर अर्को छेउमा गए। तर यो ओभरको अन्तिम बलमा विकेटकिपर मोहम्मद रिजवानले डाइभ हान्दै बल समाते। रोहित शर्माको ब्याटले पनि बल छोए जस्तो लागे पनि अम्पायरले कुनै प्रतिक्रिया देखाएनन्।
राहुलपछि नसीमले अर्को विकेट सूर्यकुमार यादवको लिए। इनिङ्सको १५ औं ओभर र नसिमको तेस्रो ओभर थियो।
नसिमले चार ओभरमा २७ रन दिएर दुई महत्वपूर्ण विकेट लिए।
उनको चौथो ओभर पनि यादगार रह्यो। आफ्नो अन्तिम ओभरको दोस्रो बलपछि नसीमको खुट्टाको मांसपेशी तानियो। उनी पीडाले भुइँमा बसे।
तर उनले मैदान छोडेनन्, फिजियोथेरापिस्टको सहयोग लिएर ओभर पूरा गरे।
नसीमको अन्तिम ओभरको पाँचौं बलमा रवीन्द्र जडेजाले छक्का प्रहार गरे जुन भारतका लागि निकै मूल्यवान साबित भयो।
नसीम १६ वर्षकै उमेरमा राष्ट्रिय टिममा डेब्यू गर्न सफल खेलाडी हुन्।
जुन समयमा नसीमले पाकिस्तानका लागि अन्तर्राष्ट्रिय डेब्यू गरे, त्यही समयमा उनकी आमाको मृत्यु भएको थियो।
त्यतिबेला नसीम अन्तर्राष्ट्रिय डेब्यू खेलका लागि अस्ट्रेलियामा थिए।
आमाको मृत्युको खबर आयो तर उनी अस्ट्रेलियाबाट फर्किएनन्। उनी आमाको अन्त्येष्टिमा सहभागी हुन सकेनन्।
आइतबार उत्कृष्ट प्रदर्शन गरेपछि उनको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
भारतका चर्चित कमेन्टेटर हर्ष भोग्लेले पनि नसीम शाहका लागि ट्वीट गरेका छन्।
भोग्लेले लेखेका छन, ‘नसीम शाहभित्र केहि छ जुन धेरै कम मान्छेसँग हुन्छ। वास्तविक गति, जब मैले उनलाई पहिलो पटक देखे, सम्भवतः अस्ट्रेलियाविरुद्धको डेब्यू खेलमा उनी कच्चा देखिन्थे। तर अहिले उनी एक सहज र प्राकृतिक आउटस्विङर देखिन्छन्। पाकिस्तानले राम्रो वातावरण दिए उनी उत्कृष्ट बलरको रूपमा उभिनेछन्।’