आइसिसी टी-२० विश्वकप २०२२ अघि भइरहेको ‘ट्रफी टुर’ का दौरान नेपालमा विश्वकपको ट्रफी आइपुगेको छ।
ट्रफी मंगलबार सोलुखुम्बुको सगरमाथा क्षेत्रको कालापत्थर र गोक्यो तालमा लगिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ ट्रफी लैजाने कार्यक्रम छ। त्यसअघि बुधबार विहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार क्षेत्रमा नागरिकले ट्रफी अवलोकन गर्न पाउनेछन्।
नेपालमा टी-२० विश्वकपको ट्रफी पहिलो पटक ल्याइएको हो। यसअघि २०१८ मा एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइएको थियो।
ट्रफी नेपालबाट सिंगापुर लगिनेछ।
आइसिसीले गत असार १४ गते ट्रफी टुर सुरु गरेको थियो।
ट्रफी टुर विभिन्न १३ देशका ३५ स्थानमा गरिनेछ। नेपालसहित, फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर र भानुआटुमा पहिलो पटक टी-२० विश्वकपको ट्रफी पुग्न लागेको हो।
आइसिसी टी-२० विश्वकप २०२२ सुरू हुन दुई महिना भन्दा कम सयम छ।
अस्ट्रेलियाको सात शहरमा हुने प्रतियोगिता आगामी १६ अक्टोबरमा सुरू हुनेछ।
१३ नोभेम्बरमा हुने फाइनल खेल मेलवर्न क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा १६ टिमबीच ४५ खेल हुनेछ।
नेपालले पनि गत वर्ष ओमानमा भएको छनोटमा भाग लिए थियो। तर सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल विश्वकप २०२२ मा छनोट हुन असफल भएको थियो।
टी-२० विश्वकप २०२२
समूह ए
नामिबिया, श्रीलंका, युएई, नेदरल्यान्ड्स
समूह बी
आयरल्यान्ड, स्कटल्यान्ड, वेस्ट इन्डिज, जिम्बावे
सुपर १२ - समूह १
अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, समूह ए विजेता, समूह बी उपविजेता
सुपर १२ - समूह २
बंगलादेश, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, समूह बी विजेता, समूह ए उपविजेता
पहिलो चरणमा समूह ए र बीका खेल हुनेछन्। दुवै समूहका शीर्ष दुईदुई टिम सुपर १२ मा पुग्नेछन्। सुपर १२ अन्तर्गत दुई समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्।