निर्णायक तथा पाँचौ टी-२० खेलमा नेपालले केन्यालाई १७६ रनको लक्ष्य दिएको छ।
केन्याको नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १७५ रन जोड्यो।
नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। ओपनिङमा आएका ज्ञानेन्द्रले ५९ रन जोडे। उनले ४४ बलमा ५ चौका र २ छक्का हिर्काए।
रोहितकुमार पौडेल अन्तिम ओभरको चौथो बलमा आउट हुनुअघि ४७ रन जोडे। उनले २५ बलमा ७ चौका प्रहार गरे।
अर्का ओपनर अर्जुन साउदले २१ बलमा २९ रनको योगदान गरे। दीपेन्द्रसिंह ऐरीले १८ बलमा २२ रन बनाए।
पवन सर्राफ १ रन, आदिल अन्सारी ४ रन र विवेक यादव २ रनमा आउट भए।
बलिङमा केन्याका विराज पटेल, शेम एनगोचे र ओडियाम्बोले २-२ विकेट लिए।
पाँच खेलको सिरिजमा २-२ को बराबरी भएको अवस्थामा आजको खेल जित्ने टिमले सिरिज आफ्नो पक्षमा पार्नेछ।
यसअघि नेपालले पहिलो टी-२० मा ५ विकेट र तेस्रो टी-२० मा ४ विकेटको जित निकालेको थियो।
दोस्रो टी-२० माे केन्या १८ रनले विजयी हुँदा हिजो भएको चौथो टी-२० मा उसले ७ रनको जित निकालेको थियो।
नेपालले हार बेहोरेका दुवै टी-२० मा खराब ब्याटिङ गरेको थियो। दोस्रो टी-२० मा नेपालले १३३ रनको लक्ष्य पूरा गर्न नसक्दा चौथो टी-२० मा १०२ रनको लक्ष्य पार गर्न सकेन।
टी-२० सिरिज खेलिसकेपछि नेपालले तीन एकदिवसीय सिरिज खेल्नेछ। नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते हुनेछ।