केन्याविरूद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज ३-२ ले आफ्नो पक्षमा पारे पनि नेपालको टी-२० वरीयता खस्किएको छ। अघिल्लो वरीयतामा १५औं स्थानमा रहेको नेपाल अहिले १६औं स्थानमा झरेको छ।
वरीयतामा आफूभन्दा तल रहेको केन्यासँग दुई खेल गुमाउँदा नेपाललाई वरीयतामा घाटा परेको हो।
आइसिसी टी-२० विश्वकप २०२४ मा सिधा छनोटका लागि महत्वपूर्ण मानिएको वरीयतामा तल झरेसँगै नेपालको आसा लगभग सकिएको छ। वरीयताको १२औं स्थानसम्म रहने टिमको सिधा विश्वकपमा छनोट हुने सम्भावना रहन्छ।
केन्याविरुद्धको टी-२० सिरिजमा नेपालले पहिलो खेल ५ विकेट, तेस्रो खेल ४ विकेट र पाँचौ तथा निर्णायक खेल ३१ रनले जितेको थियो।
तर नेपाल दोस्रो खेलमा १८ रन र चौथो खेलमा ७ रनले पराजित भएको थियो। पराजित भएका दुवै खेलमा नेपालले खराब ब्याटिङ गरेको थियो।
नेपालले दोस्रो खेलमा १३३ रनको लक्ष्य भेट्टाउन सकेको थिएन। आरिफ शेखले सबैभन्दा बढी २५ रन बनाएको खेलमा नेपाल ११४ रनमै अलआउट भएको थियो।
चौथो खेलमा त नेपालले सय रन पनि कटाउन थिएन। केन्याले दिएको १०२ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ९४ रन मात्र जोड्न सफल भएको थियो।
सिरिजमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफूलाई प्रमाणित गर्न सफल भए। तेस्रो र पाँचौ खेलमा प्लेयर अफ दि म्याचको अवार्ड पाएका ज्ञानेन्द्रले पाँच खेलमा एक अर्धशतकसहित १३५ रन जोडे। उनी सिरिजमा सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा रहे।
दोस्रो स्थानमा केन्याका इर्फान करिमले १३९ रन जोड्दा सर्वाधिक रन बनाउने खेलाडीको सूचीको शीर्ष स्थानमा नेपालका रोहितकुमार पौडेल रहे। रोहितले ५ खेलमा १५६ रन जोड्न सफल भए।
बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने सफल भए। प्लेयर अफ दि सिरिजको अवार्ड जितेका सन्दीपले ५ खेलमा १२ विकेट लिन सफल भए। उनले चौथो खेलमा ९ रन खर्चिएर ५ विकेट लिएका थिए। सन्दीपले टी-२० अन्तर्राष्ट्रियमा करिअरकै उत्कृष्ट बलिङ गरेको खेलमा भने नेपाल पराजित भयो।
अब नेपालले केन्यासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। सिरिज पर्सीदेखि सुरु हुनेछ।