सन् २०२० को टी-२० विश्वकपका लागि नेपालले सुरूमा एसिया छनोट खेल्यो। मलेसियामा भएको पहिलो चरणमा नेपाल च्याम्पियन बनेको थियो।
त्यसपछि एसिया छनोटको अन्तिम चरणमा नेपालले सिंगापुरमा सन् २०१९ को जुलाईमा प्रतिस्पर्धा गर्यो।
प्रतिस्पर्धामा आयोजक सिंगापुरसँगै नेपाल, कतार, मलेसिया र कुवेत थिए। कतारविरूद्धको पहिलो खेलमै पराजित भएपछि नेपालको विश्वकप छनोट यात्रामा सुरूमै धक्का लागेको थियो।
त्यसपछि मलेसियाविरुद्धको दोस्रो खेल र कुवेतविरूद्धको तेस्रो खेल खेल्दै नेपालले विश्व छनोटमा पुग्ने आसा जीवित राखेको थियो।
अन्तिम खेलमा आयोजक सिंगापुरलाई पराजित गरेको अवस्थामा नेपाल शीर्ष स्थानमा रहेर विश्व छनोटमा पुग्न सक्थ्यो।
खेलमा सिंगापुरले पहिले ब्याटिङ गर्दै १९१ रन जोडेको थियो। सिंगापुरका लागि टिम डेविडले ४३ बलमा ७७ रन जोडेका थिए। उनको प्रदर्शनसँगै विशाल लक्ष्य नेपालले पार गर्न सकेन भने पहिलो पटक विश्व छनोटमा पुग्न सकेन।
नेपालको यात्रामा बाधक बनेका उनै डेभिड अहिले अस्ट्रेलियाको राष्ट्रिय टिममा परेका छन्। आगामी महिना हुने टी-२० विश्वकपका लागि उनलाई अस्ट्रेलियाले राष्ट्रिय टिममा स्थान दिएको हो।
उनले सन् २०१९ देखि २०२२ सम्म सिंगापुरको राष्ट्रिय टिमबाट १४ टी-२० र १६ लिस्ट एको खेल खेलेका थिए।
अहिले अस्ट्रेलियाको राष्ट्रिय टिममा परेका उनले अस्ट्रेलियाको बिग ब्यास लिग भने सन् २०१७ देखि नै खेलिरहेका छन्। बिग ब्यासहित भारत, पाकिस्तान र इंग्ल्यान्डका लिगमा उत्कृष्ट प्रदर्शन गरेसँगै उनी अस्ट्रेलियाको राष्ट्रिय टिममा पर्न सफल भएका हुन्।
वर्षको सुरुदेखि अस्ट्रेलियाको राष्ट्रिय टिममा खेल्ने प्रक्रिया रहेका उनले अस्ट्रेलिया ११ बाट यसअघि नै खेलेका छन्।
६ फिट ५ इन्च अग्ला डेविड उत्कृष्ट ब्याट्सम्यान मानिन्छन्।
डेविडको जन्म सन् १९९६ मा सिंगापुरमा भएको थियो। उनका बुबा रोड डेविडले पनि सिंगापुरका लागि १९९७ आइसिसी ट्रफी खेलेका थिए।
उनको परिवार सन् १९९० को दशकमा अस्ट्रेलियाबाट सिंगापुर गएको थियो जहाँ उनका बुबाले इन्जिनियरको रूपमा काम गरेका थिए। सन् १९९७ को एसियाली आर्थिक संकटका कारण उनी दुई वर्षको हुँदा उनको परिवार अस्ट्रेलिया फर्किएको थियो। अस्ट्रेलिया फर्किएपछि डेविड पर्थमा हुर्किए।
सन् २०१९ मा सिंगापुरले टी-२० विश्वकप छनोटको एसिया क्षेत्रीय छनोटको फाइनलका लागि डेविडलाई राष्ट्रिय टिममा बोलाएको थियो।
छनोटमा उनकै उत्कृष्ट प्रदर्शनमा सिंगापुरले नेपाललाई पछि पारेर विश्व छनोटमा स्थान पक्का गरेको थियो।
सन् २०१९ मा क्रिकेट विश्व कप च्यालेन्ज लिग एमा कतारविरुद्ध सिंगापुरको लागि उनले आफ्नो लिस्ट ए डेब्यू गरेका थिए। पाँच खेलमा ३६९ रन बनाएर उनी प्रतियोगिताका सर्वाधिक रन बनाउने ब्याट्सम्यान थिए।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको नियम अनुसार उनी सिंगापुरबाट खेलिसके पनि अस्ट्रेलियाबाट खेल्न योग्य खेलाडी हुन्।
डेविडले अस्ट्रेलियाको बिग ब्यास लिगमा सिजन २०१७-१८ मा पर्थ स्कोर्चर्सका डेब्यू गरेका थिए। अहिले उनी होबार्ट हरिकेन्समा आबद्ध छन्।
सन् २०२१ को पाकिस्तान सुपर लिगमा उनी लाहोर कलन्दर्समा आबद्ध भएका थिए। २०२२ मा पाकिस्तान सुपर लिगमा उनलाई च्याम्पियन मुल्तान सुल्तान्सले अनुबन्ध गरेको थियो।
सन् २०२१ उनले नेदरल्यान्ड्सको लिग खेलेपछि उनी इंग्ल्यान्डको टी-२० ब्लास्टसँगै काउन्टी क्रिकेट क्लबसँग हस्ताक्षर गरेका थिए।
उनी सन् २०२१ मा उनी द हन्ड्रेडको साउदन ब्रेभमा आबद्ध भएका थिए।
अगस्ट २०२१ मा डेविडलाई इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो चरणको लागि रोयल च्यालेन्जर्स बैंग्लोरको टोलीमा समावेश गरेको थियो। उनले चेन्नई सुपर किंग्सविरुद्ध आइपिएल डेब्यू गरेका थिए। फेब्रुअरी २०२२ मुम्बई इन्डियन्सले उनलाई ८.२५ करोड भारूमा किनेको थियो।