केन्याबिरुद्धको तीन खेलको एकदिवसीय अभ्यास सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ।
शुक्रबार नैरोबीस्थित जिमखाना मैदानमा नेपालले घरेलु टिम केन्यालाई ७ विकेटले पराजित गर्यो।
केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७.२ ओभरमा ३ विकेट गुमाएर पार गर्यो।
नेपालका लागि ओपनर आसिफ शेखले शतक प्रहार गरे। आसिफले ११० रन जोड्ने क्रममा १२० बलमा १२ चौका र २ छक्का हिर्काए।
अर्का ओपनर अर्जुन साउदले ९७ बलमा ६१ रनको योगदान गरे।
ज्ञानेन्द्र मल्ल ५० बलमा २४ रन जोडेर आउट भए।
कप्तानको भूमिकामा रहेका रोहितकुमार पौडेलले नटआउट ३ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट १५ रन बनाए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको केन्या ४८.१ ओभरमा २१८ रनमा अआउट भयो।
केन्याका लागि राखेप पटेलले ६७ रन र कोलिन ओबुयाले ६२ रनको योगदान गरे।
बलिङमा नेपालका करण केसी र सोमपाल कामीले ३-३ विकेट लिन सफल भए।
नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न गएपछि खेलमा कप्तानी रोहितकुमार पौडेलले गरे।
सिरिजको दोस्रो खेल भोलि शनिबार र तेस्रो खेल सोमबार हुनेछ।
यसअघि नेपाल र केन्याबीच पाँच खेलको टी-२० सिरिज भएको थियो। सिरिजमा नेपाल ३-२ ले विजयी भएको थियो।
तर टी-२० वरीयतामा नेपालभन्दा तल रहेको केन्यासँग दुई खेलमा पराजित हुँदा नेपालको वरीयता खस्किएर १६औं स्थानमा पुगेको थियो।