केन्याविरूद्धको एकदिवसीय अभ्यास सिरिज नेपालले अन्तिम खेलअघि नै आफ्नो पक्षमा पारेको छ। शनिबार भएको दोस्रो खेलमा १६ रनको जित निकाल्दै नेपालले २-० को अग्रता लिएर सिरिज जितेको हो।
यसअघि शुक्रबार भएको पहिलो खेलमा पनि नेपाल विजयी भएको थियो। अब अन्तिम खेल सोमबार हुनेछ।
शनिबार पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छदा २३० रनमा अलआउट भयो।
नेपालका लागि कप्तानको भूमीकामा रहेका रोहितकुमार पौडेलले ७८ रन जोडे। उनले ९५ बलमा ७ चौका हिर्कए। देव खनालले ३७ रन र ज्ञानेन्द्र मल्लले २५ रनको योगदान गरे।
आदिल अन्सारीले १४ रन जोड्दा सोमपाल कामीले १५ बलमा २६ रन बटुले। करण केसीले पनि ६ बलमा ११ रन जोडे।
बलिङमा केन्याका एन ओडियाम्बो, विराज पटेल र एनगोचेले २-२ विकेट लिए।
२३१ रनको लक्ष्य पछ्याएको केन्या ४६.३ ओभरमा २१४ रनमा अलआउट भयो। उसका लागि राखेप पटेलले ८२ रनको योगदान गरे। कोलिन ओबुयाले ३७ रन र ओडियाम्बोले २८ रन बनाए।
बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए। सोमपाल कामीले ३ विकेट हात पार्दा पवन सर्राफ र करण केसीले १-१ विकेट हात पारे।